आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुआत

दुबई । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पिएनजी) लाई २ विकेटले पराजित गरेको छ । 

सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पिएनजीलाई निर्धारित ५० ओभरमा २०४/८ मा रोकेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २ सय ५ रनको लक्ष्य ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २ सय ५ रनको लक्ष्य ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रोहितले पाँचौं विकेटका लागि आरिफसँग एक सय दुई रनको साझेदारी गर्दै ५८ रनको अर्धशतकीय इनिङ खेले । नेपालका लागि ८२ बलको सामना गरेका रोहितले चार चौका प्रहार गरेका थिए ।

यस्तै, आरिफले ८१ बलमा दुई चौकासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले । इनिङको खराब सुरुआत गरेको नेपालले ४३ रनमा चार विकेट गुमाइसकेको थियो । यसक्रममा ओपनर कुशल भुर्तेल १, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ४, आशिफ शेख १६ र दीपेन्द्रसिंह ऐरी ८ रन जोडेर पभेलियन फर्केका थिए ।

तल्लो मध्य क्रमका ब्याटरद्व आरिफ र रोहितले नेपाललाई जिततर्फ डोर्याउन महत्त्वपूर्ण साझेदारी गरेका थिए । यसबाहेक टेल इन्डर करण केसीले २५ बलमा एक चौका र दुई छक्कासहित अविजित २९ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई जित दिलाए । यस्तै कप्तान सन्दीप लामिछाने खाता नखोल्दै अविजित रहँदा विकेटकिपर–ब्याट्सम्यान विनोद भण्डारी ११ तथा अलराउन्डर सोमपाल कामी ८ रन बनाएर आउट भए ।

पिएनजीका लागि नोर्मन भानुवा, एले नाओ र रिले हेकुरेले दुई–दुई विकेट लिए ।

पहिलो इनिङमा बलिङ गरेको नेपालका लागि सोमपालले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप, आरिफ र ज्ञानेन्द्रले एक–एक विकेट लिए ।

पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको योगफल खडा गरेको थियो । पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ ।

नेपाल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा छ । नेपालले पाँच खेल जितेको छ भने चार खेलमा पराजय भोगेको छ । १४ खेल खेलेको पिएनजी अंकविहीन छ ।

त्यस्तै, युएई १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा रहँदा ओमान २८ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १६ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । समान १४ अंक जोडेका नामिबिया र अमेरिका क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।