एलपिएल

एलपीएल–६: ह्वाइट हाउस, शारदा, सत्यवती र विद्या भूषण सेमिफाइनलमा

धनगढी । धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौंले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो ।

समूह ‘ए’ बाट जित्नैपर्ने खेलमा ह्वाइट हाउससँग ८० रनले पराजित भएसँगै होलिल्याण्ड उपाधि होडबाट बाहिरिँदा शारदा सरस्वती दोधारालाई फाइदा पुगेको छ । समूहमा चार अंक जोडेको शारदाले रनरेटमा होलिल्याण्ड र एभरेस्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । समूहबाट ह्वाइट हाउस  आठ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

समूह ‘बी’ बाट विद्या भूषणलाई रनरेटमा पछि पार्दै सत्यवती समूह विजेता बनेर सेमिफइलन पुग्दा विद्या भूषण समूह उप–विजेता बनेर सेमिफइनल पुगेको छ । दुबै टिमले समान ६ अंक जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौँले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।

एक सय ९७ रनको विशाल विजयी लक्ष पछ्याएको होलिल्याण्डले १५.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर एक सय १६ रन मात्रै बनाउन सक्यो । उसका राज विश्वकर्माले २७ बलमा ३०, दीपक टमाटाले १३ बलमा २२ र अभिषेक पालले ७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानको प्रदर्शन सम्झनलायक बन्न सकेन ।

होलिल्याण्डलाई सस्तैमा समेट्न बलिङतर्फ हिमालयनका वशन्त सिंह कार्कीले महत्वपूर्ण चार, राहुल भण्डारी र सतिश यादवले समान दुई तथा सार्थक धितालले एक विकेट लिए ।

हिमालयनका दीपक बोहरा (जुनियर) ले ४९ बलमा पाँच छक्का र आठ चौकाको मद्दतले ८७ रनको उत्कृष्ट पारी खेले । हिमालयनका राहुल भण्डारीले २९, नारायण जोशीले २७, दीपक बोहरा (सिनियर) ले २१ रन बनाए ।

बलिङतर्फ होलिल्याण्डका जीत साउदले तीन र गजेन्द्र बोहराले पाँच विकेट लिए ।

भोली शुक्रबार हुने सेमिफइनलको पहिलो खेलमा बिहान ९ः३० बजे ह्वाइट हाउस र विद्या भूषण तथा दोश्रो सेमिफइनल खेलमा दिउसो १ः३० बजे सत्यवती र शारदा भिड्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।