एलपिएल

एलपिएल–६: हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका दुई खेलमा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौैं र विद्या भूषण गेटाले जित निकालेका छन् ।

आइतबारको पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्यो ।

टस हारेर ब्याटिङमा आएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । एक सय ७४ रनको विजयी लक्ष्य पछ्याएको शारदाले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रनबनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।

शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्त्वपूर्ण चार विकेट लिए । यस्तै, सन्दीप शाहले दुई, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले एक\एक विकेट लिए ।

यसअघि हिमालयनका लागि दीपक बोहराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । दीपक बोहरा (क) ले ३० बलमा पाँच चौका र छक्कासहित ४८ रन बनाए । अर्का दीपकले २० बलको सामना गर्दै तीन चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए ।

यस्तै, राहुल भण्डारीले दुई छक्का र दुई चौकासहित ३० बलमा ४० रन बनाउँदा वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए ।

शारदाका लागि बलिङतर्फ मिलन बोहरा र अर्जुन सिंह साउदे समान दुई विकेट लिँदा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले एक/एक विकेट लिए ।  

खेलको प्लेयर अफ दी म्याच र गेम चेन्जर अवार्ड हिमालयनका राहुल घोषित भए ।

आजै भएको दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनायो । एक सय ४४ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १७.६ ओभरमा अल आउट हुनुअघि ८८ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाएर आउट भए ।

बलिङतर्फ विद्या भूषणका कप्तान शेर मल्लले चार, प्रदीप चन्दले तीन, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले एक\एक विकेट लिए ।

यसअघि विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ लिटल फ्लावरका पुष्कर बडुले तीन विकेट लिए । यस्तै, प्रकाश जैशीले दुई, सुवास ऐर र नरेन भट्टले एक\एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए । यस्तै गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले पाए ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्नेछन् । जारी संस्करणको उपाधि उचाल्ने टिमले एक लाख ५० हजार र उप विजेताले ७५ हजार पुरस्कार पाउनेछन् ।