एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमितिको आकस्मिक बैठक मंगलबार, निर्वाचित मात्रै सहभागी हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ । आकस्मिक रूपमा बस्न लागेको यो बैठकमा तीन एजेन्डामा छलफल हुनेछ ।

मंगलबार दिउँसो ४ बजे एन्फा मुख्यालय सातदोबाटोमा बस्ने बैठकमा निर्वाचित १७ सदस्यलाईमात्र बोलाइएको छ । यसअघि नै कार्यसमितिले निर्णय गरेर दुई पटक स्थगित भएको विशेष साधारणसभाको मिति तय गर्ने लगायत तीन एजेन्डामाथि छलफल हुने बताइएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले बोलाएको बैठकका एजेन्डामा ‘एन्फाको निर्वाचन निर्देशिका सम्बन्धमा र एन्फा सदस्य, जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ र अन्य चार संघहरु तथा ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन सम्बन्धमा’ छन् ।

यसअघि माघ २० गते बसेको कार्यसमिति बैठकले माघ २९ गतेलाई विशेष साधारणसभाको मिति तोकेको थियो । तर कार्यसमितिको निर्णय उल्टाउँदै एन्फा सचिवालयले विशेष साधारणसभा स्थगित गर्दै आजका लागि मिति तोकेको थियो । तर आजका लागि तय गरिएको साधारणसभा पनि एन्फा सचिवालयले दुई दिनअघि स्थगित गरेको थियो ।

एन्फा महासचिव तुलाधरले यसअघि नै निर्णय भइसके पनि नियमावली नभएका कारण पुनः कार्यसमिति बैठक बस्नुपरेको बताए ।

‘अघिल्लो कार्यसमितिले विशेष साधारणसभाको विषयमा निर्णय गरे पनि निर्वाचन नियमावलीमा टुंगो नलागेकाले विशेष साधारणसभा पनि बस्न सक्ने भएन । नियमावली भए पो विशेष साधारणसभाले त्यही नियमावली टेकेर निर्वाचन समिति गठन गर्थ्यो,’ एन्फा महासचिव तुलाधरले खेलाडीसँग भने, ‘नियमावली सम्बन्धमा फिफा र एएफसीले केही सुझावहरु पठाएको छ । त्यो सुझावअनुसार केही संसोधन गर्नुपर्ने भएको छ । त्यही कारण आकस्मिक बैठक बस्नुपर्ने भएको हो ।’