प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः पुलिस शतप्रतिसत जितसहित सेमिफाइनलमा

काठमाडौं । प्रदेश १ माथि ६ विकेटको जित निकालेसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को विजेता बनेको छ ।

समूह चरणमा शतप्रतिसत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । त्यस्तै समूह उपविजेता बन्दै सेमिफाइनलको टिकट काटेको त्रिभुवन आर्मी क्लबले समान खेलबाट पाँच अंक जोड्यो ।

समान खेलबाट चार अंक जोडेको सुदूरपश्चिमले तेस्राे र दुई अंक जोडेको कर्णालीले चौथो स्थान रहदै प्रतियोगिताको अन्त्य गरे । समूहको पुछारमा रहेको प्रदेश १ ले चार खेलबाट एक अंक मात्र जोड्न सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार प्रदेश १ ले दिएको एक सय दुई रनको लक्ष्य पुलिसले १३.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

प्रदेश एकका मिनस थापाले अर्धशतकीय इनिङ खेले । उनले ५९ बलमा ५९ रन बनाए । त्यस्तै श्रवण यादवले १० रन जोड्दा अन्य ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् ।

पुलिसका आरिफ शेखले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका आरिफले दुई मेडन राख्दै मात्र दुई रन खर्चिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी र मञ्जित श्रेष्ठले दुई दुई विकेट लिँदा करण केसी र सागर ढकाले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार गरेको थियो ।

कुशल भुर्तेल सर्वाधिक ४४ रन जोडे । २८ बलमा समान तीन चौका र छक्का प्रहार गरे । यस्तै अनिल साहले २६ र दिपेन्द्रसिंह ऐरीले २० रन जोडे ।

प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले समान एक विकेट लिए ।