प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः आर्मीको विजयी सुरूआत

काठमाडौं । कर्णाली प्रदेशमाथि ६३ रनको जित निकाल्दै सोमबार त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एक सय १७ को लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमै समेटियो ।

कर्णालीका अर्जुन घर्तीले सर्वाधिक १६ रन बनाए । यसैगरी कप्तान रविन्द्र शाहीले १५ र प्रकाशले आठ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिदाँ सुसन भारी र शाहब अलामले समान एक विकेट तथा सोमपाल कामी र विक्रम सोबले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा अलआउट हुनुअघि एक सय १६ रनको योगफल खडा गरेको थियो ।

आर्मीको जितमा कप्तान बिनोद भण्डारीले सर्वाधिक २९ रनको योगदान गरे । उनले १७ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै हरी चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्लले समान १० रन बनाए ।

कर्णालीका प्रकाश जैसीले तीन, अनुज चुनाराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले समान एक विकेट हात पारे ।