इङ्ल्यान्ड क्रिकेट

तत्काल कप्तानी सम्हाल्ने इच्छा छैनः बेन स्टोक्स

मेलर्बन । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले तत्काल इङ्लिस टोलीको कप्तानी सम्हाल्ने कुनै इच्छा नरहेको बताएका छन् ।

अस्ट्रेलियाविरुद्ध जारी एसेस टेस्ट शृंखला ३–० ले गुमाएपछि इङ्लिस टोलीका कप्तान जो रुटमाथि दबाब बढेको छ । यसैकारण टोलीका उपकप्तान रहेका स्टोक्सलाई कप्तानको प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

‘ममा कप्तानी सम्हाले महत्वकांक्षा कहिल्यै थिएन । कप्तानीको अर्थ मैदानमा फिल्ड सजाउनु मात्रै होइन । टोलीको चयन र सही समयमा सही निर्णय गर्न सक्नु सबै कप्तानको जिम्मेवारीमा हुन्छ,’ स्टोकले भने, ‘कप्तान त्यो हो जसका लागि तपाई खेल्न चाहनुहुन्छ । र, म सधैँ रुटका लागि खेल्न चाहन्छु ।’

सन् २०१७  मा कप्तानीको जिम्मेवारी पाएका रुटले जनवरी चारबाट सिड्नीमा सुरु हुने चौथो टेस्टसँगै  एलेस्टर कुकको नाममा रहेको सर्वाधिक टेस्ट कप्तानीको कीर्तिमान तोड्ने छन् । कुकको कप्तानीमा इङ्ल्यान्डले ५९ टेस्ट खेलेको थियो । रुटका लागि चौथो खेल इङ्लिस टोलीको कप्तानको रुपमा ६०औं टेस्ट हुनेछ ।

रुटको कप्तानीमा इङ्ल्यान्डले २७ टेस्ट खेल जितेको छ भने २४ टेस्ट खेल हारेको छ । 

इङ्ल्यान्ड टोलीले ब्याटिङमा संघर्ष गरिरहँदा रुटका लागि भने सन् २०२१ उत्कृष्ट रह्यो । उनले यस वर्ष टेस्ट क्रिकेटमा एक हजार ७ सय ८ रन बनाए ।