नेपाली महिला क्रिकेट टोली

पहिला ब्याटिङ गर्दै नेपाल

दोहा । कतारविरुद्धको पहिलो ट्वान्टी २० खेलमा टस हारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको छ ।

कतारसँग तीन खेलको ट्वान्टी २० मैत्रीपूर्ण शृंखला खेल्नका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अहिले दोहामा छ । शृंखलाका खेलहरु कतारको दोहास्थित वेस्ट इन्ड पार्क रंगशालामा हुनेछन् ।

नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला ट्वान्टी २० विश्वकपको एसियाली छनोटको तयारीका लागि कतारसँग मैत्रीपूर्ण शृंखला खेल्न लागेको हो ।

पछिल्लो पटक महिला टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेको थियो । त्यसयता २३ महिनापछि अन्तर्राष्ट्रिय खेलका लागि महिला टोली मैदान उत्रिन लागेको हो ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुँदैछ । छनोट प्रतियोगितामा नेपालले हङकङ, भुटान, कुवेत, मलेसिया र आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट प्रतियोगिताकाका लागि नेपाली टोली कतारबाटै शुक्रबार दुबई प्रस्थान गर्नेछ । मैत्रीपूर्ण शृंखलाका बाँकी दुई खेल बुधबार र बिहीबार हुनेछन् ।