कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता

कर्पोरेट सुपर सिक्सेस बैशाखमा हुने

काठमाडौं । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सातौं संस्करण आगामी वैशाखको अन्तिम सातादेखि हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिइएको हो । तीन वर्षपछि हुन लागेको प्रतियोगितामा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने भएको छ । सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को  प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले जानकारी दिए ।

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटमा विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्राउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए । अब छिट्टै उमेरसमूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ ।

सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो । पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लव घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।

छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन । प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ ।

काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।