अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

अन्तिम ट्वान्टी २० मा पनि इङ्ल्यान्ड विजयी

काठमाडौं । इङ्ल्यान्ड घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलमा पनि पाँच विकेटले विजयी भएको छ ।

जितसँगै इङ्ल्यान्डले पाँच खेलको शृंखलामा ४-१ ले आफ्नो पक्षमा पार्यो ।

वालिङटनस्थित बासिन रिजर्भ क्रिकेट मैदानमा शुक्रबार न्युजिल्यान्डले प्रस्तुत गरेको १३७ रनको लक्ष्य इङ्ल्यान्डले १८.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि कप्तान हेदर नाइटले ३५, नटाली स्किभर ब्रन्टले ३१, एसिल काप्सीले २५ र ड्यानी वायटले २१ रन बनाए ।

चौथो विकेटका लागि नाइट र ब्रन्टले ५७ रनको साझेदारी गरे ।  न्युजिल्यान्डका लागि एमेलिया केरले तीन तथा रोजमेरी मायर र लिया तहुहुले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यन्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि  इसाबेला गाजीले २८ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरिन् । यसैगरी ब्रुकी हेलीडेले ३३, जर्जिया पलिमेरले १२, सुजी बेट्सले ११ र म्याडी ग्रिनले १० रन जोडे ।

छौटौं विकेटका लागि गाजी र हेलीडेले ५६ रनको साझेदारी गरे ।  इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले तीन, नटाली स्किभर ब्रन्टले दुई र चार्ली डिनले एक विकेट लिए ।

यसअघि यसअघि इङ्ल्यान्डले २७, १५ र ४७ तथा न्युजिल्यान्डले तीन रनको जित निकालेका थिए ।