नेपाली क्रिकेट

भारत जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसिसीट्वान्टी २० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी २० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार खेलाडीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गाना लगातयको उपस्थिति थियो ।

नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग एसएमएस फ्रेन्डसिप कप खेल्नेछ । उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ ।

नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिता अघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको शृंखलामा ‘क्लिन स्विप’ गरेको थियो ।

ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

नेपाली टोली 
रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायाण राजवंशी, प्रतिस जिसी,अविनाश बोहरा,आकाश चन्द