अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

श्रीलंकाविरुद्धको पहिलो ट्वान्टी २०मा दक्षिण अफ्रिका विजयी

काठमाडौं । श्रीलंकाविरुद्धको महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा बुधबार घरेलु टोली दक्षिण अफ्रिका ७९ रन विजयी भएको छ ।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

विलोमोरे पार्कमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको श्रीलंका १८.२ ओभरमा ११९ रनमा समेटियो ।

श्रीलंकाका लागि हर्षिता समराविक्रमाले ३८, हासिनी परेराले ३०, अनुश्का सञ्जिवनीले १४ र काभिशा दिलहारीले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि तुमी सेखुखुने र अनेरी डेर्कसेनले समान दुई तथा क्लो ट्रियोन, म्यारिजेन केप, मसाबाता क्लास र नादिनी डी क्लार्कले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफिकाका लागि कप्तान लोरा उल्भरड्टले ६३ बलमा १२ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान दिइन् । यसैगरी म्यारिजेन केपले ४० बलमा चार चौकका र तीन छक्काको मद्ुदतले ६०, तजामिन ब्रिट्सले १५ र सुने लुसले १४ रन बनाए ।

दोस्रो विकेटका लागि उल्भरड्ट र केपले ११६ रनको साझेदारी गरे । श्रीलंकाका लागि अचिनी कुलसूरियाले दुई र इनोशी प्रियदर्शनीले एक विकेट लिए ।