मुम्बई इन्डियन्स

मुम्बईको लगातार दोस्रो हार

काठमाडौं । हार्दिक पांड्या कप्तान बनेपछि मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा मुम्बई सनराईज हैदराबादसँग ३१ रनले पराजित भएको हो ।

पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको हो । मुम्बईले रोहित शर्मालाई बाहिर राख्दै हार्दिकलाई कप्तान बनाएको थियो । तर, टोलीले प्रदर्शन राम्रो हुन सकेको छैन ।

यता, प्याट कमिन्सको कप्तानीमा हैदराबादको पहिलो जित हो । पहिलो खेलमा हैदराबाद कोलकत्तासँग चार रनले पराजित भएको थियो ।

सुरुवाती ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाउँदा तीन अर्धसतकसहित दुई सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मुम्बईले पाँच किवेट गुमाउँदा मात्र दुई सय ४६ रन बनाउन सक्यो ।

मुम्बईको लागि तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । टिम डेविड ४२ रनमा अविजित, नमन धिरले ३०, इशान किशनले ३४, रोहित शर्माले २६, हार्दिकले २४ रनको योगदान गरेका हुन् । तिलक र धिरबीच ३७ बलमा ८४ रनको साझेदारी भएपनि जित निकाल्न पर्याप्त भएन ।

यसअघि हैदराबादको लागि हेनरिक क्लासेनले ३४ बलमा चार चौका र सात छक्कासहित अविजित ८० रन बनाए । ओपनर ट्राभिस हेडले ६२ र अभिषेक शर्माले ६३ रन तथा ऐडन मारक्रमले ४२ रनको योगदान गरेका हुन् ।

क्लासेन र मारक्रमबीच चौथो विकेटको लागि ५५ बलमा सर्वाधिक ११६ रनको अविजित साझेदारी भएको थियो । हेड र शर्माले ६८ रनको दोस्रो ठूलो साझेदारी गरेका थिए ।