ट्वान्टी २० शृंखला

नेपाललाई आयरल्यान्ड ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखला

काठमाडौं । कुशल मल्लको अलराउन्ड प्रदर्शन प्रेरित नेपालले ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गरेको छ । जितसँगै नेपालले दुई खेलको शृंखला ‘क्लिन स्विप’ गरेको छ ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२७ रन बनाउन सक्यो ।

सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । नेपाललाई जित दिलाउन कुशल मल्लले १३ बलमा ३४ रन जोड्नुका  साथै तीन विकेट लिए ।

आयरल्यान्डले ४३ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका लागि सोमपाल कामीले १३ बलमा चार चौका र एक छक्का प्रहारकाे मद्दतले २६ रन बनाएकाे  स्टेफन ओपनर डिलानीलाई पेभिलियनको बाटो देखाएका थिए । दुई बलपछि अर्का ओपनर अदैर पनि कुशल मल्लकाे बलमा गुल्सनबाट क्याच भए । 

त्यसपछि तेस्रो नम्बरमा आएका केद कार्मिकेलले पारी सम्हाल्न खोजे । तर, १८ रनमा रहँदा उनलाई १२औं ओभरको पहिलो बलमा कुशल भुर्तेलले अनिल साहबाट क्याच गराए।

एक सय रन हुँदा आयरल्यान्डले अर्को विकेट गुमायो । ११ बलमा १७ रन जोडेका कप्तान निल रकलाई करण केसीले १५औं ओभरकाे पहिलो बलमा सन्दीप जोराबाट क्याच आउट गराए । आठ रनपछि नेपालले पाँचौं सफलता हासिल गर्यो । 

१६औं ओभरको पहिलो बलमा २१ रन जोडेका मोर्गन टोपीङ कुशल मल्लको बलमा विकेटकिपर आशिफ सेखबाट स्टम्पिङ भए । त्यही ओभरको पाँचौं बलमा कुशलले तेस्रासफलता हासिल गरे । एक रन बनाएका गेभिन होयलाई कट एन्ड बोल्ड गराए ।

१९औं ओभरमा नेपालले तीन विकेट लियो । ओभरको पहिलो बलमा सोमपालले लियम म्याकार्थीलाई एक रनमा बोल्ड गराए । दोस्रो बलमा बेन ह्वाइट सोमपालबाटै रनको खाता पनि खोल्न नपाई कट एन्ड बोल्डको सिकार बने ।

सोही ओभरको तेस्रो बलमा कप्तान रोहितकुमार पौडेलले १५ रन बनाएक गारेथ डेनालीलाई रन आउट गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा साता विकेट गुमाउँदै १९८ रनको योगफल तयार पार्यो ।

नेपालका लागि गुल्सन झाले ३२ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरे । गुल्सनले ५६-३ को अवस्थाबाट कप्तान रोहितकुमार पौडेलसँग ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।

त्यस्तै रोहितले २४ बलमा पाँच चौका प्रहार गर्दै ३३ रन बनाए । रोहित १६औं ओभरको अन्तिम बलमा गेभिन होयको बलमा कप्तान निल रकबाट क्याच भएका थिए । त्यसअघि गुल्सन पनि १४औं ओभरको पाँचौं बलमा बेन ह्वाइटको बलमा निलबाटै क्याच भए ।

नेपालले २४ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको पाँचौं बलमा ओपनर आशिफ सेख ११ रन बनाउँदै पेभिलियन फर्केका थिए । म्याथिउ फोस्टरको बलमा स्टेफन डोहिनीबाट क्याच हुनुअघि आशिफले समान एक चौका र छक्का प्रहार गरे ।

पाँचौं ओभरको तेस्रो बलमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । १६ बलको समान दुई चौका र छक्का प्रहार गरेका कुशलले २५ रन जोडे । भुर्तेल पनि फोस्टरकै सिकार बने । तेस्रो नम्बरमा आएका अनिल शाह १२ रनमा आउट हुँदा नेपालले ५६-३ को स्थितिमा थियो ।

छैंटौं नम्बरमा आएका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै १३ बलमा ३४ रन जोडे । १६औं ओभरको पहिलो तीन बलमा लगातार तीन छक्का प्रहार गरेका कुशलले थप एक छक्का र एक चौका प्रहार गरे । उनी छक्का हान्ने धुनमै ह्वाइटको बलमा डिलानीबाट क्याच हुन पुगे ।

इनिङको अन्तिम बलमा २१ रन बनाएका सन्दीप जोरालाई फोस्टरले रोस अदैरबाट क्याच गराए