ट्वान्टी २० शृंखला

नेपालले दियो आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य

काठमाडौं । नेपालले ट्वान्टी २० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’सामू १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९८ रनको योगफल तयार पार्यो ।

नेपालका लागि गुल्सन झाले ३२ बलमा चार छक्का र एक चौकाको मद्दतले  सर्वाधिक ४६ रनको योगदान गरे । गुल्सनले ५६-३ को अवस्थाबाट कप्तान रोहितकुमार पौडेलसँग ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । 

त्यस्तै रोहितले २४ बलमा पाँच चौका प्रहार गर्दै ३३ रन बनाए । रोहित १६औं ओभरको अन्तिम बलमा गेभिन होयको बलमा कप्तान निल रकबाट क्याच भएका थिए । त्यसअघि गुल्सन पनि १४औं ओभरको पाँचौं बलमा बेन ह्वाइटको बलमा निलबाटै क्याच भए ।

नेपालले २४ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको पाँचौं बलमा ओपनर आशिफ सेख ११ रन बनाउँदै पेभिलियन फर्केका थिए । म्याथिउ फोस्टरको बलमा स्टेफन डोहिनीबाट क्याच हुनुअघि आशिफले समान एक चौका र छक्का प्रहार गरे । 

पाँचौं ओभरको तेस्रो बलमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । १६ बलकाे समान दुई चौका र छक्का प्रहार गरेका कुशलले २५ रन जोडे । भुर्तेल पनि फोस्टरकै सिकार बने । तेस्रो नम्बरमा आएका अनिल शाह १२ रनमा आउट हुँदा नेपालले ५६-३ को स्थितिमा थियो ।

छैंटौं नम्बरमा आएका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै १३ बलमा ३४ रन जोडे । १६औं ओभरको पहिलो तीन बलमा लगातार तीन छक्का प्रहार गरेका कुशलले थप एक छक्का र एक चौका प्रहार गरे । उनी छक्का हान्ने धुनमै ह्वाइटको बलमा डिलानीबाट क्याच हुन पुगे । 

इनिङकाे अन्तिम बलमा २१ रन बनाएका सन्दीप जोरालाई फोस्टरले रोस अदैरबाट क्याच गराए ।