टंकलाल घिसिङ

यु-१९ विश्वकपकाे तयारीमा कुनै कसर बाँकी राख्दैनाैंः सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्कलेबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा ट्वान्टी २० क्रिकेटमा नेपालले विगतमा कायम गरेको प्रगतीलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको बताउदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए ।

सदस्यसचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण गराए ।

सदस्य-सचिव घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु-१९ महिला ट्वान्टी २० विश्वकप आयोजनाका लागि स्वीकृति दिएको आइसिसीलाई धन्यवाद दिए ।

‘यु-१९ विश्वकप तयारीमा हाम्रो तर्फबाट कुनै कसर बाँकी राख्दैनौं,’ सदस्यसचिव घिसिङले भने ,‘विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आइसिसीलाई धन्यवाद ।’

घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइ दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे ।

अध्यक्ष बार्केले एसोसिएट राष्ट्रमा नेपाल नम्बर एक बन्ने सम्भावना रहेको भन्दै सीमित श्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतलको उपस्थिति  थियो ।