त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

पिएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) ले नेपालसामू १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल तयार पार्यो । 

पिएनजीका लागि टोली उराले अर्धशतक प्रहार गरे । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।  उराले पाँचौं विकेटमा लागि हिला वारेसँग ४८ रनको साझेदारी गरे । वारेले १८ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन तथा करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

करणले दोस्रो बलमै सेसे बाउलाई रनको खाता पनि खोल्न नदिई आकाश चन्द बाट क्याच गराए । दोस्रो ओभरको चौथो बलमा आकाशले कप्तान असाद भालालाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । भाला दुई रन बनाएर आउट भए ।

चौथो ओभरको पहिलो बलमा आकाशले लेगा सियाकालाई दुई रनमा करणबाट क्याच गराए । छैटौं ओभरको दोस्रो बलमा गुल्सन झाले हिरी हिरीलाई लोकेश बमबाट क्याच गराए । हिरीले १५ रन बनाए ।

१२औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले हिला वारेलाई १८ रनमा एलबिडब्ल्युको धरापमा पारे ।  १४औं ओभरको चौथो बलमा कुशलले अर्धशतक प्रहार गरेका टोनी उरालाई विवेक यादवबाट क्याच गराए । उराले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६१ रन बनाए । 

१८औं ओभरको चौथो बलमा कुशलले किप्लिन डोरिगालाई लोकशबाट क्याच गराए । १९औं ओभरको पाँचौं बलमा आकाशले चाड सोपरलाई कुशलबाट क्याच गराए ।