कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः पुलिस र आर्मीको जित

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा आइतबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले जित निकालेका छन्  ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा दिनको पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्यो । जितसँगै पुलिस समुह ‘बी’ मा दुई खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकी तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।

गण्डककीले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पुलिसले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि शंकर रानाले ३० बलमा  पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी अमित श्रेष्ठले २८, रोहन विकले १९  र शरद भेषवाकरले १८ रन जोडे ।

गण्डकीका लागि अम्रित गुरुङ र सन्दिप पराजुलीले समान दुई तथा चन्द्र पौडेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पार्यो । गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान दिए । यसैगरी इश्वर क्षेत्रीले ४१ र दीपक डुम्रेले ४० रन बनाए ।

पुलिसका लागि अविशेक कार्कीले तीन, ललित भण्डारी, शरद भेषवाकर र दीपक सेर्लाले समान समान एक विकेट लिए ।

दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई सात विकेटले हरायो । आर्मी लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ समुह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ । पराजयसँगै तीन खेलमा दुई अंक जोडेको मधेश चौथो स्थानमा छ । 
मधेशले प्रस्तुत गरेको १५४ रनको लक्ष्य आर्मीले १६.५ ओभरमा  तीन विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि  त्रितराज दासले ४३ बलमा  ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी सन्तोष कार्कीले ३८ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५७ र तुल थापाले १९ बनाए ।

मधेशका लागि रुपेश सिंह, अविशेक तिवारी र पवन सराफले समान विकेट लिए ।

त्यसटस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो । मधेशका लागि  पवन सराफले ३९ बलमा ६ छक्का र दुई चौकाको मद्दले सर्वाधिक ६३ रनको योगदान गरे । साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ जोडे ।

आर्मीका नितेश पटेलले चार ओभरमा १९ रन खर्चिदै चार विकेट लिए । यसैगरी त्रितराज दास र सहाब आलमको नाममा समान एक विकेट रह्यो । 

सोमबार सुदूरपश्चिम र बागमती तथा कोशी र एपिएफबीत प्रतिस्पर्धा हुनेछ ।