अन्तर विद्यालय क्रिकेट

अन्तर विद्यालय क्रिकेटः सरस्वती च्याम्पियन

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट वाउन्ड्रीको सहयोगमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल च्याम्पियन बनेको छ ।  

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा सरस्वतीले आदर्श वालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

सरस्वतीले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको आदर्श वालिका १५.२ ओरभमा ६९ रनमै समेटियो । वालिकाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्  ।

सरस्वतीकी कृतिसा धामीले चार तथा पूर्णिमा राजवंशी र अञ्जली मण्डलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्यो । सरस्वतीका लागि प्रेरणा पासवानले ७२ रनको योगदान दिइन् ।

यसैगरी कृतिसा धामीले १७ रन बनाइन् । आर्दश वालिकाका लागि कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान एक विकेट लिए ।

प्रतियोगितामा सरस्वतीकी कृतिसा धामी ‘प्लेयर अफ द सिरिज’ घोषित हुँदा आर्दश वालिकाकी सकुन्तला सहनी उत्कृष्ट ब्याटर र सरस्वतीकी चाँदनी यादव उत्कृष्ट बलर चुनिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उपमेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउन्ड्रीका सार वेग, एड ल्याम्प, टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार वतरण गरे ।

प्रतियोगितामा विराटनगरका ६ सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।