दाङ क्रिकेट लिग

दाङ क्रिकेट लिगः घोराही टाइगर्स र तुलसीपुर रोयल्स विजयी

घोराही । दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिगमा मंगलबार तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई तथा साविक घोराही टाइगर्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गरे।

घोराही क्रिकेट रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रनले पराजित गर्यो।

तुलसीपुर रोयल्सले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको दंगाली लायन्सले २० ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो।

दंगाली लायन्सका लागि सन्तोष कार्कीले सर्वाधिक ३१, अंकित बुढा मगरले १६ तथा विपिन खत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

तुलसीपुरका लागि अमरसिंह रौटेला र इस्माइल अन्सारीले समान तीन, दिवान पुनले दुई तथा रुपेश सिंहले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२५ को योगफल तयार पार्यो ।

तुलसीपुरका लागि ओपनर विपिन रावलले ४५ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४२ रन बनाए। अर्का ओपनर विराटसिंह भण्डारीले ३८ रन बनाए ।

पहिलो विकेटका लागि विपिन र विराटले ९५ रनको  साझेदारी गरे। दंगाली लायन्सका लागि विपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले समान एक विकेट लिए।

दिनको दोश्रो खेलमा घोराही टाइगर्सले पुरनधारा च्यालेन्जर्सलाई दुई विकेटले हरायो ।

पुरनधारा च्यालेन्जर्सले प्रस्तुत गरेकोको ११८ रनको लक्ष्य घोराही टाइगर्सले १९.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । घोराहीका लागि अर्जुन घर्तीले सर्वाधिक ४१, दिपेश कँडेलले १९, दिल्शाद अलीले १५, दिलिप नाथले १० रन बनाए ।

पुरनधाराका लागि कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल ओलीले समान दुई लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुरनधाराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनायो।

पुरनधाराका लागि राजु रिजालले ४४ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५० रन बनाए। रित गौतमले १६, दिपेन्द्र रावतले १५ तथा प्रनित थापाले १० रन जोडे ।

घोराही टाइगर्सका दिपेश कँडेलले तीन मिलन बुढाथोकीले दुई तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान एक विकेट लिए।