यु-१९ विश्वकप

गुल्सन झा भन्छन्ः खेल करिअरमा कहिले प्रदर्शन राम्रो हुन्छ, कहिले नराम्रो

काठमाडौं । तीव्र गतिका बलर गुल्सन झाले ब्याटिङ राम्रो नहुँदा टोलीले दक्षिण अफ्रिकामा जारी आइसिसी एकदिवसीय यु-१९ विश्वकपमा खराव नतिजा बेहोर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

सोमबार विश्वकप खेलेर टिमसँगै स्वदेश फर्किएका गुल्सनले विमानस्थलमै पत्रकारहरुसँग भने, ‘हामीले राम्रो खेल प्रस्तुत गरेको जस्तो लाग्छ । टोलीका रुपमा एकदमै राम्रो खेल्यौं । तर, ब्याटिङमा रन नै आएन । बलिङ एकदमै राम्रो भयो । तर, ब्याट नचल्दा सोचे अनुरुपको नतिजा हासिल गर्न सकिएन ।’

समूह चरणमा तीन खेलमध्ये एकमा मात्र जित हासिल गरे पनि नेपालले सुपर सिक्समा स्थान बनाएको थियो । तर, सुपरसिक्सका खेलअघि नै नेपाल सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको थियो ।

समूह चरणको पहिलो खेलमा बलियो राष्ट्र न्युजिल्यान्डसँग ६४ रनको सम्मानजनक हार बेहोरेको नेपाल दोस्रो खेलमा अर्को बलियो टोली पाकिस्तानसँग पनि पाँच विकेटले पराजित भयो ।

समूहको अन्तिम खेलमा अफगनास्तिानमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेपछि बल्ल नेपालले सुपरसिक्समा स्थान बनाएको थियो । सुपरसिक्सको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित नेपालले भारतसँग १३२ रनको फराकिलो हार बेहोर्यो ।

आइसिसी यु १९ विश्वकपमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दै गुल्सन

गत वर्षको जुनमा जिम्बाब्वेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट  र एसिया कपमा नेपालको सिनियर टोलीबाट खेलिसकेका गुल्सन झामाथि यसपाली सबैले उच्च अपेक्षा राखेका थिए । तर, दक्षिण अफ्रिकामा सम्पन्न यु-१९ विश्वकपमा गुल्सनले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेनन् । पाँच खेलमा गुल्सनले २५ रन मात्र जोडे । औसतमा प्रतिखेल ५ रन मात्र । ब्याटिङमा सुस्त देखिएका गुल्सन बलिङमा पनि छाउन सकेनन् । गुल्सनको नाममा ६ विकेट मात्र थियो ।

यही अनुपेक्षित प्रदर्शनले गर्दा टोलीका सबैभन्दा अनुभवी खेलाडी गुल्सनमाथि सबैले प्रश्न उठाए । आज त्रिभुवन विमानस्थलमा गुल्सनले आफ्नो प्रदर्शनको प्रतिक्रिया यसरी दिए, ‘खेलाडीको करिअरमा यस्ता क्षणहरु आउँछन् । कहिले प्रदर्शन राम्रो हुन्छ, कहिले नराम्रो । खेलाडीको जिवन पनि यही हो ।’

‘मेरो अपेक्षा पनि राम्रो गर्छु भन्ने नै थियो । तर, प्रदर्शन सामान्य हुन पुग्यो, ’ गुल्सनले थपे, ‘त्यस्तो दवाब केही थिएन । अब आउने दिनमा सबै खाले प्रतियोगितामा राम्रो गर्ने प्रयास गर्छु । यी कुरालाई एक ठाउँ राखेर अगाडि बढ्छु ।’

उता सिनियर टोलीमा ‘डेब्यु’ गर्न बाँकी खेलाडीको प्रदर्शनले भने सबैको ध्यान तान्यो । तीव्र गतिका बलर आकाश चन्दले अफगानिस्तानविरुद्ध पाँच विकेट लिएका थिए । प्रतियोगिताअवधिभर आकाशको नाममा ९ विकेट थियो । आकाशबाहेक प्रतियोगितामा स्पिनर सुवास भण्डारी पनि ९ विकेट लिन सफल भए । सुवासले पनि बंगलादेशविरुद्ध पाँच खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए ।

एसिया कपमा ब्याटिङ गर्दै गुल्सन

दक्षिण अफ्रिकाको यात्रा पछि गुल्सन विना आराम आइसिसी विश्वकप लिग २ का लागि सिनियर टोलीसँग जोडिदै छन् । क्यानले आइतबार मात्र क्यानडासँगको शृंखला र लिग २ का लागि दुई फरक टोली घोषणा गरेको छ । जसमा गुल्सनको नाम ‘लिग २’ खेल्ने समूहमा समावेश छ ।

नेपालले फेब्रुअरी ८ देखि १२ सम्म क्यानडासँग शृंखला खेल्नेछ । त्यसपछि आइसिसी लिग २ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँगको शृखला फेब्रुअरी १५ देखि २४ सम्म हुनेछ ।

आकाशसँगै हेमन्त धामी, र रिजन ढकालले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । उनीहरुलाई क्यानडाविरुद्धको शृंखलाका लागि मौका दिइएको हो ।