इङ्लिस प्रिमियर लिग

मार्टिनेजको घुँडामा गम्भीर चोट

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन ह्यागले लिसान्द्रो मार्टिनेजको घुँडामा गम्भीर चोट लागेको पुष्टी गरेका छन् ।

खुट्टाको चोटका कारण चार महिना आराम गरेर फर्केपछि गए राति वेस्ट ह्यामविरुद्धको खेलमा २६ वर्षे मार्टिनेज फेरि घाइते भएका थिए । वेस्ट ह्यामका फुल ब्याक भ्लादिमिर कौफलसँगको भिडन्तमा ल्यान्ड गर्ने क्रममा मार्टिनेजको दायाँ घुँडामा चोट लागेको थियो । खेल युनाइटेडले ३-० को नतिजामा जितेको थियो ।

२०२२ मा आयाक्सबाट युनाइटेड सरुवा भएर आएका मार्टिनेजको चोट गम्भीर भए पनि त्यसले उनको करिअर नै नसिध्याओस भनेर प्रार्थना गरिरहेको टेन ह्यागले बताए ।

‘मार्टिनेजको चोट निक्कै गम्भीर छ । अहिल्यै यसै भन्न सकिन्न । तर हामी यही चोटले उनको करिअरमा ठूलो धक्का नलगाओस भनेर प्रार्थना गरिरहेका छौं । हामीले अहिले गर्न सक्ने पनि यत्तिमात्र हो,’ टेन ह्यागले भने, ‘अहिले उनको परिक्षण भइरहेको छ । कस्तो रिपोर्ट आउँछ हेर्न बाँकी छ । तर चोट गम्भीर देखिन्छ । उनी निक्कै निराश छन् । हामी सबै जना अहिले उनको अवस्थालाई लिएर निराश छौं ।’

मार्टिनेजबाट आफूले धेरै आशा गरेको बताउँदै टेन ह्यागले थपे, ‘यो चोटले टिमलाई ठूलो धक्का लागेको छ । उनको व्यक्तिगत करियरलाई पनि धेरै घाटा हुनेछ । तथापि उनको उपचारमा कुनै कमी हुने छैन । उनी चाँडो भन्दा चाँडो मैदान फर्किउन भन्ने हाम्रो कामना हो ।’

मैदानमा लडेपछि उनको अनुहारमा निक्कै पीडा देखिएको थियो । जसका कारण केही क्षण म्यानचेस्टर युनाइटेडको पूरा टोलीले उनलाई घेरेर राखेको थियो । अर्जेन्टिनी रक्षकलाई लडेको केही बेरमै मैदानबाहिर निकालिएको थियो ।

राफेल भाराने, ह्यारी मागुइर, जोनी इभान्स र भिक्टर लिन्डेलोफ सबै उपलब्ध भएकाले तत्कालका लागि उनको अनुपस्थितीमा पनि युनाइटेडको रक्षापंक्ति कमजोर भने भइहाल्ने छैन ।