इङ्लिस प्रिमियर लिग

लिभरपुलका कप्तान भान डाइकले लिए आर्सनलसँग हार्नुको जिम्मेवारी

काठमाडौं । लिभरपुलका कप्तान भर्जिल भान डाइकले इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राती आर्सनलसँग ३-१ ले पराजित हुनुको जिम्मेवारी लिएका छन् ।

आर्सनलको दोस्रो गोल डच रक्षक भान डाइकको गल्तीमा भएको थियो । भान डाइकले त्यसमा पूरा जिम्मेवारी लिँदै त्यसपछि पनि सुधारिएको प्रदर्शन गर्न नसक्नु आफ्नो कमजोरी भएको प्रतिक्रिया दिए ।

‘२-१ हुनुमा मैले पूरा जिम्मेवारी लिनुपर्छ । मेरै गल्तीमा उनीहरुले दोस्रो गोल गरेका थिए । त्यही गोलले खेलको दृष्य परिवर्तन गरिदियो । मैले त्योभन्दा राम्रो गर्न सक्नुपर्थ्यो । मबाट राम्रो निर्णय हुनुपर्ने थियो । मेरा कारण पूरा टिम डुब्न पुग्यो । यो सम्झँदा थकथक लागिरहन्छ,’ भान डाइकले भने, ‘मेरो करियरमा यस्तो घटना धेरै पटक भएका छैनन् । यसकारण यो गल्तीले थप दुःखी बनाएको छ । तर म यसबाट उम्किएर स्वभाविक लयमा फर्किन्छु । किनकी मैले यसबाट पनि पाठ सिकेको छु ।’

‘दोस्रो गोल खानुअघिसम्म खेलको अवस्था फरक थियो । हामीले राम्रा अवसरहरु सिर्जना गरिरहेका थियौं । खेलमाथि पूर्ण रुपमा नियन्त्रण राखेका थियौं । तर अचानक गोल खाएपछि पूरा खेलको दृष्य बदलियो । हामी एकाएक नर्भस भयौं,’ भान डाइकले सुनाए ।

आफ्ना कप्तानको समिक्षासँग सहमत लिभरपुलका मुख्य प्रशिक्षक योर्गान क्लोप भने रेफ्रीको निर्णयहरुप्रति पनि आक्रोसित थिए । खेलको अन्त्यतिर लिभरपुलका इब्राहिम कोनाटेले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडे । तर जर्मन रणनीतिकार क्लोपको विचारमा त्यो खेलमा आर्सनलका कम्तिमा दुई खेलाडी कोनाटेजस्तै सजायको भागिदार थिए ।

‘सामान्य रुपमा भन्ने हो भने आज हाम्रो दिन थिएन । यत्ति भनेर उम्कन सकिन्छ । परिस्थितीहरु केही जटिल भए पनि आज आर्सनल तीन अंकको हकदार थियो । तर एउटै खेलमा थुप्रै कुराहरु एकसाथ भए । हामीले राम्रो फुटबल खेल्न सकेनौं वा आफूले चाहेजसरी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई प्रयोग गर्न सकेनौं,’ क्लोपले भने, ‘हामीले योभन्दा राम्रो फुटबल खेल्नुपर्थ्यो । रेफ्रीको निर्णय ठिक हुनुपर्थ्यो । समग्रमा भन्दा आज सबथोक हाम्रो विपक्षमा रहयो ।’