प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

दिनेशको अलराउन्ड प्रदर्शनमा कर्णालीको दोस्रो जित

काठमाडौं । दिनेश अधिकारीको अलराउन्ड प्रदर्शनप्रेरित कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ६० पराजित गरेको छ । 

दोस्रो जितसँगै कर्णालीले तीन खेलमा चार अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको लुम्बिनीको समान खेलबाट दुई अंक छ ।  

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १ सय २४ रनमा समेटियो ।  

लुम्बिनीका लागि कृष्ण कार्कीले ७७ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४७ रनको योगदान गरे । यसैगरी मृनाल गुरुङले २२ तथा महोम्मद हुसेन र निर्मल गुरुङले समान १० रन बनाए । 

कर्णालीका लागि दिनेशले तीन, दीपेन्द्र रावत र अनुज चनाराले समान दुई तथा दिवान पुनले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो । 

कर्णालीका लागि दिनेश अधिकारीले ५९ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र कप्तान रविन्द्र शाहीले ११ रन बनाए । 

आठौं विकेटका लागि दिनेश र दीपेन्द्रले ७२ रनको साझेदारी गरे । लुम्बिनीका लागि अविशेक गौतम र निमएल गुरुङले समान तीन तथा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले समान एक विकेट लिए ।