प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुजनको शतकमा कोशीले पुलिसलाई दियो १ सय ६७ रनको लक्ष्य

काठमाडौं । सुजन थपलियाको शतकप्ररित कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबसामू १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि सुजनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक १ सय ५ रनको योगदान गरे । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाए ।  

सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे । पुलिसका लागि करण केसीले ९.२ ओभरमा २८ रन खर्चिदै तीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई तथा राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए ।