क्रिकेट

इतिहासमा क्रिकेट विश्वकप: यसरी सुरु भो एकदिवसीय क्रिकेट

काठमाडौं । क्रिकेटको सबैभन्दा पुरानो प्रारुप हो टेस्ट । सन् १८९० अघि टेस्ट क्रिकेटको बारेमा खासै तथ्यांक राखेको पाइँदैन । तर सन् १८७७ मा अस्ट्रेलिया संयुक्त ११ र जेम्स लिलह्वाइट ११ बीच टेस्ट खेल भएको इतिहास भेटिन्छ ।

अधिकारिक रूपमा भने इङ्ल्यान्ड र अस्ट्रेलियाबीच सन् १८८२ मा पहिलो टेस्ट खेल भएको थियो । विश्व क्रिकेट लामो समयसम्म टेस्टमै सीमित बन्यो । टेस्ट क्रिकेटप्रति समर्थकको घट्टो रुचिका कारण नयाँ प्रारुपको बारेमा चर्चा चल्न थालेको लामो समय भइसकेको थियो ।  

यसैबीच सन् १९७१ मा क्रिकेटको नयाँ प्रारुप जन्मियो । जसलाई एकदिवसीय नाम दिइयो । एकदिवसीय क्रिकेटको जन्म हुनुमा पनि अनौठो संयोग छ । मेलबर्न क्रिकेट मैदानमा तय एसेज शृंखलाअन्तर्गत तेस्रो टेस्टमा वर्षाका कारण पहिलो तीन दिनको खेल हुन नसकेपछि अफिसियलहरूले खेल रद्द भएको घोषणा गरे ।

तेस्रो टेस्ट रद्द भए पनि खेल हेर्न आएका दर्शकलाई निरास नबनाउने हेतुले एकदिवसीय खेल खेलाउने निर्णय भयो ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाइयो । प्रतिओभर ८ बल रहेको उक्त खेल ४० ओभरको थियो ।

उक्त खेल घरेलु टोली अस्ट्रेलियाले ५ विकेटले आफ्नो पक्षमा पार्यो । पहिलो एकदिवसीय खेल सेतो जर्सी र रातो बलका साथ खेलिएको थियो ।

एकदिवसीय क्रिकेटको लोकप्रियता बढ्दै गएपछि यसका लागि छुट्टै प्रतियोगिता आवश्यक रहेको महसुस गरिन थाल्यो ।

सन् १९७३ को महिला एकदिवसीय विश्वकप दौरान सन् १९७५ मा पुरुष विश्वकप आयोजना गर्ने योजना बनेको थियो ।

प्रतियोगितामा सबै टेस्ट राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै शीर्ष दुई टोली नकआउट चरणमा पुग्ने पद्दति तयार पारियो । प्रतियोगिताको आयोजना गर्ने जिम्मा इङ्ल्यान्डले पायो ।

एकदिवसीय विश्वकपको सुरुआत

सन् १९७५ जुन ७ देखि २१ सम्म पहिलो पुरुष एकदिवसीय विश्वकप आयोजना गरिएको थियो ।

सुरुमा टेस्ट मान्यताप्राप्त राष्ट्रलाई मात्र सहभागी गराउने योजना भए पनि पछि एसोसिएट राष्ट्रलाई पनि समेट्ने निर्णय गरिएको थियो ।

पहिलो एकदिवसीय विश्वकपमा तत्कालीन समयमा टेस्ट मान्यताप्राप्त ६ तथा २ एसोसिएट गरी ८ राष्ट्रले सहभागिता जनाएका थिए ।

त्यतिबेला टेस्ट मान्यताप्राप्त इङ्ल्यान्ड, अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, न्युजिल्यान्ड र भारत तथा एसेसिएट राष्ट्र श्रीलंका र पूर्वी अफ्रिकाको सहभागिता थियो ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने नियम थियो ।

समूह ‘ए’ मा आयोजक इङ्ल्यान्ड, न्यूजिल्यान्ड, भारत र पूर्वी अफ्रिका तथा समूह ‘बी’मा वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका थिए ।

६० ओभरको विश्वकपमा कुल १५ खेल भएका थिए । आइसिसी एकदिवसीय विश्वकपको पहिलो खेलमा इङ्ल्यान्ड र भारत भिडेका थिए ।

जुन ७ मा लन्डनस्थित लर्डस क्रिकेट मैदानमा भएको उक्त खेल इङ्ल्यान्डले २ सय २ रनले आफ्नो पक्षमा पारेको थियो ।

समूह ‘ए’ बाट इङ्ल्यान्ड र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट वेस्ट इन्डिज र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाए ।

समूह चरणमा वेस्ट इन्डिज र इङ्ल्यान्डले तीनै खेल जित्दा श्रीलंका र पूर्वी अफ्रिका जितविहीन बने ।

सेमिफाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्ड र वेस्ट इन्जिडले न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

जुन २१ मा लर्डस क्रिकेट मैदानमा अस्ट्रेलियामाथि १७ रनको जित निकाल्दै वेस्ट इन्डिज एकदिवसीय विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो ।

प्रतियोगितामा न्युजिल्यान्डका ग्लेन टर्नर (३ सय ३३) सर्वाधिक रन बनाउने र अस्ट्रेलियाका ग्यारी गिल्मर (११) सर्वाधिक विकेट लिने खेलाडी बने ।