फुटबल

फिफा विश्वकप पुग्ने बाटो

काठमाडौं । नेपालले फिफा विश्वकप फुटबलको फाइनल चरणमा पुग्ने सपना अहिले नबनाए हुन्छ । सपना बुन्नलाई त्यो किसिमको फुटमलमय वातावरण पनि हुनुपर्छ नि । पर्याप्त लगानी र व्यवस्थित फुटबल लिग नहुँदा नेपाली फुटबलको स्तर दक्षिण एसियाभन्दा माथि उठ्न सकेको छैन ।

कतारले जनवरी महिनामा एएफसी एसियन कप २०२३ को आयोजना गर्दै छ । महादेशीय यस प्रतियोगिताले कतारमा १८औं संस्करण पार गर्नेछ । वर्षको हिसाबले हेर्ने हो भने एसियन कप सुरु भएको ६७ वर्ष भइसक्यो । विडम्बना नेपालले यसको अनुभव लिन पाएको छैन ।

एसियन कप २०२३ छनोट प्रतियोगितामा नेपाल गतवर्ष तेस्रो चरणसम्म पुगेको थियो । त्यो पनि पहिलो चरणमा चौथो स्थान हासिल गरेको हैसियतले । नेपालले अहिलेसम्म हासिल गरेको ठूलो उपलब्धि पनि यही नै हो । त्यसैले अहिले विश्वकपलाई एक ठाउँ राखौं । र, एसियन कपमा पुग्ने सपना बुनौं ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले शनिबार मात्र फिफा विश्वकप २०२६ को पहिलो चरणका लागि प्रारम्भिक टोली घोषणा गरेका छन् । ३० सदस्यीय उक्त टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका १२ खेलाडी परेका छन् । टोली अगस्ट १ देखि बन्द प्रशिक्षणमा जानेछ ।

नेपालले विश्वकप छनोटको पहिलो खेल अक्टोबर १२ मा खेल्नेछ । कोसँग खेल्ने छ, त्यो भने तय भएको छैन । फिफा विश्वकप छनोटकै पहिलो दुई चरणले नै साउदी अरेबियामा हुने ‘एसियन कप २०२७’ को सहभागिता तय गर्नेछ ।

क्षमतावान खेलाडीको विदेश पलायनलाई मध्यनजर गर्ने हो भने नेपाललाई विगतको तुलनामा यसपालि महादेशीय प्रतियोगितामा छनोट हुन झन् गाह्रो पर्नेछ ।

एएफसी विश्वकप छनोट

फिफाले विश्वकप फुटबलमा सहभागी टोली संख्या ३२ बाट ४८ पुर्याएको छ । यससँगै विश्वकप खेल्ने एसियाली टोलीको संख्यामा वृद्धि हुनेछ । विगतमा एसियाबाट बढीमा ५ टोलीसम्मको सहभागिता रहने गर्दथ्यो । कतार विश्वकपमा त आयोजकसहित ६ राष्ट्रले एसियाको प्रतिनिधित्व गरेका थिए ।

यसपालि एसियाको सन्दर्भमा आठ टोली महादेशीय छनोट प्रतियोगिताबाट विश्वकपमा छानिने छन् । त्यस्तै एक टोलीले अन्तरमहादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नेछ । जम्माजम्मी बढीमा ९ टोलीले फुटबल विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

प्रारम्भिक संयुक्त छनोट (पहिलो चरण):

एसियामा कुल ४७ देशले एएफसी सदस्य राष्ट्रको मान्यता पाएका छन् । यीमध्ये पहिलो चरणमा २२ टोलीले सहभागिता जनाउने छन् । फिफा वरीयताअनुसार यी देशहरू २६ देखि ४७ औं वरीयताका टोली हुन् । जसमा नेपाल पनि पर्छ । 

होम एन्ड अवे ढाँचामा दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट ११ टोली प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस्तै एक उत्कृष्ट उपविजेता टोलीले एएफसी एसियन कप क्वालिफायर्सको अन्तिम चरणमा स्थान बनाउने छ, उसको विश्वकप यात्रा भने बाँकी १० टोलीसँगै समाप्त हुनेछ ।

प्रारम्भिक संयुक्त छनोट (दोस्रो चरण):

यस चरणमा कुल ३६ टोलीको सहभागिता रहनेछ । यसमध्ये २५ टोली फिफा वरीयताअनुुसार यी देशहरू १ देखि २५ औं वरीयताका टोली हुन् । बाँकी ११ टोली पहिलो चरणबाट छनोट भएर आएका हुन्छन् । 

यी ३६ टोलीलाई ९ समूहमा विभाजन गरिनेछ । एउटा समूहमा ४ टोली हुनेछ, जसमा प्रत्येक टोलीले होम एन्ड अवे ढाँचामा डबल राउन्ड रोबिन पद्दतिमा बाँकी टोलीसँग खेल्नेछ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले स्वतः ‘एएफसी एसियन कप २०२७’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् । यिनै १८ टोलीहरू एएफसी एसियन विश्वकप छनोटका लागि पनि छानिने छन् ।

एएफसी एसियन क्वालिफायर्स: 

एसियन कपमा छानिसकेका १८ टोलीलाई ६-६ गरी तीन समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले होम एन्ड अवे ढाँचामा डबल राउन्ड रोबिन पद्दतिमा बाँकी टोलीसँग खेल्नेछ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले सिधै फिफा विश्वकप २०२६ मा स्थान बनाउने छन् ।

एसियन प्लेअफ:

यसमा एसियन छनोटमा सबै समूहबाट तेस्रो र चौथो स्थानमा रहेका टोली समावेश हुनेछन् । जम्मा ६ टोलीलाई तीन-तीन टोली राखेर दुई समूहमा विभाजन गरी सिंगल राउन्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गराइने छ । 

पहिलो स्थानमा रहेका दुई टोलीहरू फिफा विश्वकप २०२६ मा पुग्नेछन् । दुवै समूहबाट दोस्रो स्थानमा रहेका टोलीमध्ये एकले अन्तरमहादेशीय प्लेअफमा एएफसीको प्रतिनिधित्व गर्नेछ । जसका लागि यी दुई टोलीले होम एन्ड अवे ढाँचामा प्लेअफमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

यसरी एसियाबाट विश्वकपमा बढीमा ९ टोलीले सहभागिता जनाउन पाउने छन् ।

अब पालो एसियन कपको । प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणबाट १८ टोलीले यसअघि साउदी अरेबियामा हुने प्रतियोगिताका लागि स्थान बनाइसक्ने छन् । कुल २४ देश सहभागी रहन पाउने प्रतियोगितामा बाँकी ६ टोलीका लागि प्रतिस्पर्धा हुनेछ । जसको प्रक्रिया प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणबाटै जारी रहनेछ ।

एफसी एसियन कप (क्वालिफायर्स प्लेअफ):

प्रारम्भिक संयुक्त छनोटको पहिलो चरणमा पराजित १० टोलीले फेरि पनि होम एन्ड अवेको ढाँचामा खेल्नेछन् । जसमा पाँच विजेता टोली एएफसी एसियन कप क्वालिफायर्सको अन्तिम चरणमा पुग्नेछन् ।

एएफसी एसियन कप (क्वालिफायर्स अन्तिम चरण):

अन्तिम चरणमा कुल २४ टोली हुनेछन् । यी २४ टोली हुन् प्रारम्भिक संयुक्त छनोटको पहिलो चरणमा उत्कृष्ट उपविजेता बनेको एक टोली, प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा समूहको तेस्रो र चौथो हुन सफल १८ टोली र एएफसी एसियन कप क्वालिफायर्सको प्लेअफबाट छानिएका ५ टोली । यी टोलीहरूलाई ६ समूहमा विभाजन गरिनेछ । सबै ६ समूह विजेताले एसियन कपमा स्थान बनाउने छन् ।

नेपालको प्रतिस्पर्धा कोसँग हुनेछ । त्यो थाहा हुनेछ, जुलाई २७ मा । त्यसदिन एएफसीको केन्द्रीय कार्यलय क्वालालम्पुरमा प्रारम्भिक संयुक्त छनोटको पहिलो र दोस्रो चरणका लागि चरणका लागि आधिकारिक ‘ड्र’ हुँदैछ ।

नेपालको सम्भावित प्रतिस्पर्धी 

मकाउ, मंगोलिया, भुटान, लाओस, बंगलादेश, ब्रुनाई, इस्ट टिमोर, पाकिस्तान र ग्वाम

प्रारम्भिक संयुक्त छनोटको पहिलो चरणका लागि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले छानेको प्रारम्भिक नेपाली टोली:

गोलकिपर: किरणकुमार लिम्बु, अनिश देउला, अभिषेक बराल, दीप कार्की

रक्षक: विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, एञ्जल महर्जन, छिरिङ लामा, अञ्जन राई

मिडफिल्डर: एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिशरत्न छुन्जु

फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, दिनेश हेम्जन