क्रिकेट विश्वकप

विश्वकप क्रिकेट खेल्ने सबै टिमको टुंगो

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा बिहीबारको खेलसँगै तीन महिनापछि भारतमा हुने विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताका सबै सहभागीको टुंगो लागेको छ ।

विश्वकपको १३औं संस्करणमा आइसिसी सुपर लिगका शीर्ष ८ तथा छनोटबाट आएका २ गरी १० टोलीले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् ।

आइसिसी सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

यसैगरी श्रीलंका र नेदरल्यान्ड्सले भने छनोट चरण पार गर्दै विश्वकपमा सहभागिता पक्का गरेका हुन् । ग्लोबल क्वालिफायरमा असफलहुँदा आइसिसी वरीयताको शीर्ष १० मा रहे पनि दुई पटकको पूर्व विजेता वेस्ट इन्डिज आसन्न विश्वकपमा देखिने छैन ।

शीर्ष १० भित्रको वेस्ट इन्डिजमात्र विश्वकपमा अनुपस्थित हुनेछ । बिहीबार स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हासिल गरेपछि १५औं वरीयताको नेदरल्यान्ड्सले विश्वकपमा उपस्थिति पक्का गरेको हो ।

यस्ता छन् एकदिवसीय विश्वकप खेल्ने १० टोली:

भारत

भारतले अहिलेसम्म भएका विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । हाल आइसिसी एकदिवसीय वरीयताको तेस्रो स्थानमा रहेको भारत दुई पटकको च्याम्पियन हो ।

सन् १९८३ मा वेस्ट इन्डिजलाई हराउँदै भारत पहिलो पटक एकदिवसीय विश्वकप च्याम्पियन बनेको थियो । भारतले दोस्रो पटक च्याम्पियन बन्न भने लामो समय कुर्नुपर्यो । भारत २८ वर्षपछि २०११मा श्रीलंकालाई हराउँदै दोस्रो पटक च्याम्पियन बनेको हो ।

उपाधिको सदाबहार दाबेदार रहने गरेको भारतले गत संस्करणमा सेमिफाइनसम्म यात्रा तय गरेको थियो ।

अस्ट्रेलिया

अस्ट्रेलिया एकदिवसीय विश्वकपको सर्वाधिक सफल टोली हो । हाल एकदिवसीय वरीयताको शीर्षस्थानमा रहेको अस्ट्रेलिया पाँच पटक च्याम्पियन बनिसेकेको छ ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको अस्ट्रेलिया सन् १९८७ मा इङ्ल्यान्डलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो । अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा लगातार तीन पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गरेको थियो । अस्ट्रेलियाले क्रमशः पाकिस्तान, भारत र श्रीलंकालाई पराजित गरेको थियो ।

एकदिवसीय विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने एकमात्र राष्ट्र अस्ट्रेलिया सन् २०१५ मा न्यूजिल्यान्डलाई पराजित गर्दै पाँचौं पटक च्याम्पियन बनेको थियो । अस्ट्रेलियाले गत संस्करण सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

इङ्ल्यान्ड

क्रिकेटको जन्मदाता इङ्ल्यान्डले विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । आफ्नै भूमिबाट एकदिवसीय विश्वकप सुरु भएको भए पनि इङ्ल्यान्डले च्याम्पियन बन्न भने ४४ वर्ष कुर्नुपर्यो ।

लामो समयको प्रतीक्षापछि इङ्ल्यान्ड सन् २०१९ (अघिल्लो संस्करण) मा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक एकदिवसीय विश्वकपको च्याम्पियन बनेको थियो ।

हाल एकदिवसीय वरीयताको पाँचौं स्थानमा रहेको इङ्ल्यान्ड उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ ।

न्युजिल्यान्ड

एकदिवसीय विश्वकपमा सबैभन्दा अभागी टोलीको रूपमा न्युजिल्यान्डलाई लिइन्छ । सधै उपाधि दाबेदार रहने गरे पनि न्युजिल्यान्ड हालसम्म एक पटक पनि च्याम्पियन बन्न सकेको छैन ।

न्युजिल्यान्ड लगातार दुई पटक एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएको छ । सन् २०१५ मा अस्ट्रेलियासँग पराजित भएको न्युजिल्यान्ड सन् २०१९ मा इङ्ल्यान्डसँग स्तब्ध बन्न पुगेको थियो ।

हाल एकदिवसीय वरीयताको चौथो स्थानमा रहेको न्युजिल्यान्डले सबै संस्करणको विश्वकप खेलेको छ ।

पाकिस्तान

एकदिवसीय विश्वकपको पहिलो संस्करणदेखि हालसम्म नछुटेको टोलीमध्ये पाकिस्तान पनि एक हो ।

हाल एकदिवसीय वरीयताको दोस्रो स्थानमा रहेको पाकिस्तान एक पटक  च्याम्पियन बनेको छ । पाकिस्तानले सन् १९९२ को फाइनलमा इङ्ल्यान्डलाई पराजित गरेको थियो ।

उपाधि दाबेदार पाकिस्तान आफ्नो साख फर्काउने प्रयासमा छ । गत संस्करणमा भने पाकिस्तानले समूह चरण पनि पार गर्न सकेन  ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाले पनिहालसम्म एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । दक्षिण अफ्रिकाका लागि यो नवौं सहभागिता हुनेछ । दक्षिण अफ्रिकाले सन् १९९२ देखि एकदिवसीय विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

सन् १९९२, १९९७, २००७ र २०१५ मा सेमिफाइनल पुग्नु दक्षिण अफ्रिकाको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

एकदिवसीय वरीयताको छैटौं स्थानको दक्षिण अफ्रिकाले गत संस्करणमा भने समूह चरण पार गर्न सकेन ।

बंगलादेश

बंगलादेश सातौं पटक एकदिवसीय विश्वकपमा सहभागी हुँदै छ । टोलीले सन् १९९९ देखि विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

सन् २०१५ मा क्वाटरफाइनल पुग्नु नै बंगलादेशको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । हाल एकदिवसीय वरीयताको सातौं स्थानमा रहेको बंगलादेशलाई उपाधि दाबेदार नमानिए पनि अन्डरडग टोलीका रूपमा हेरिएको छ ।

गत संस्करण बंगलादेशको यात्रा समूह चरणमै सीमित बनेको थियो ।

अफगानिस्तान

अफगानिस्तानका लागि एकदिवसीय विश्वकपमा यो तेस्रो सहभागिता हो । अफगानिस्तानले यसअघि सन् २०१५ र २०१९ को विश्वकपमा सहभागिता जनाएको थियो । तर टोलीको यात्रा अहिलेसम्म समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

हाल एकलिवसीय वरीयताको नवौं स्थानमा रहेको अफगानिस्तानलाई विश्वकपमा अप्रत्यासित नतिजा ल्याउन सक्ने टोलीको रूपमा लिइएको छ ।

श्रीलंका

श्रीलंकाले विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । यसपटक भने श्रीलंकालाई विश्वकपमा स्थान बनाउन छनोटको सहारा लिनुपरेको थियो ।

श्रीलंका सन् १९९६ मा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन बनेको थियो । पछिल्लो समयको लय सकारात्मक भए पनि श्रीलंकालाई उपाधि दाबेदार मान्न कठिन छ ।

गत संस्करण समूह चरण पार गर्न नसकेको श्रीलंका हाल एकदिवसीय वरीयताको आठौं स्थानमा छ ।

नेदरल्यान्ड्स

नेदरल्यान्ड्स यस पटकको विश्वकप खेल्ने एकमात्र एसोसिएट राष्ट्र हो । आठ वर्षपछि कुनै एसोसिएट राष्ट्रले विश्वकपमा सहभागिता जनाउन लागेको हो । पछिल्लो पटक  सन् २०१५ मा युएईले विश्वकप खेलेको थियो ।

नेदरल्यान्ड्स छनोट चरण पार गर्दै १३ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भयो । हाल एकदिवसीय वरीयताको १५औं स्थानमा रहेको नेदरल्यान्ड्सका लागि यो पाँचौं विश्वकप सहभागिता हुनेछ ।

यसअघि सन् १९९६, २००३, २००७ र २०११ को विश्वकपमा सहभागिता जनाएको नेदरल्यान्ड्सले समूह चरण भने पार गर्न सकेको छैन ।