राष्‍ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन प्रतिस्पर्धा

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्‍ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्‍ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको छ । 

जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको क्यान र एमएसटीले आज एक विज्ञप्तीमार्फत जनाएका छन् । नेपालको राष्‍ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रंगको प्रयोगबाट जर्सीको अगाडि र पछाडिको भागलाई ध्यानमा राख्दै डिजाइन गरिएका जर्सीमात्र प्रतिस्पर्धाका लागि लायक हुनेछन् । 

अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद (आइसिसी)को मापदण्डअनुसार डिजाइन गरिएका त्यस्ता डिजाइनहरुमध्येको सर्वोत्कृष्‍ट डिजाइनरले नगद पुरस्कारस्वरुप १ लाख रुपैयाँ पाउने जानकारी गराइएको छ ।

नेपाली राष्‍ट्रिय टोलीले लगाउने जर्सी राम्रो होस भन्‍ने उद्देश्यका साथ क्यानसँगको सहकार्यमा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा गराउन लागेको एमएमटीका सह संस्थापक सुलभ बुढाथोकीले जानकारी गराएका छन् । उनका अनुसार प्रतिस्पर्धाबाट छानिएको डिजाइन नेपाली राष्टिय टोलीले आगामी प्रतियोगिताहरुमा प्रयोग गर्नेछ । 

यसैबीच एमएमटीले हालै सम्पन्‍न नेदरल्यान्ड्स र मलेसियासमेत रहेको त्रिकोणात्मक शृंखलाको उपाधि विजेता नेपाली टोलीलाई दिने भनेको पाँच लाख नगद पुरस्कार तथा शृंखला दौरान राष्‍ट्रिय टोलीबाट डेब्यु गर्ने खेलाडीहरु कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमलसिंह ऐरीलाई जनही एक लाख रुपैयाँ केही दिनमा प्रदान गर्ने जनाएको छ ।