महिला भलिबल टोलीको बन्द प्रशिक्षण भोलीबाट

काठमाडौ, (खेलाडी)- आगामी अगस्टमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षण भोलीबाट सूरु हुने भएको छ ।

नेपाल भलिबल संघले गत साता ३० सदस्यीय महिला राष्‍ट्रिय टोलीको घोषणा गर्दै जेठ २१ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने बताएका थियो । तर कोभिड १९ को दोस्रो लहरका कारण अहिले पनि लकडाउन जारी रहेकाले गृह मन्त्रालयले समेत प्रशिक्षणका लागि अनुमती दिएको थिएन।

स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द प्रशिक्षण सुरु गर्न गृह मन्त्रालयले अनुमती दिएपछि भने भोलीबाट तयारी सुरु गरिन लागेको हो । बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको पिसिआर परिक्षण गरिसकिएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोस मास्केले खेलाडीलाई बताइन् । 

बन्द प्रशिक्षणको पूर्वसन्ध्यामा संघले आज दशरथ रंगशाला परिसरका साथै कभर्डहल डिसइन्फेक्ट गरेको छ ।

प्रतियोगिता अगस्ट २९ बाट सेप्‍टेम्बर ५ सम्म फिलिपिन्समा हुनेछ । प्रतियोगिताका लागि भलिबल संघले चैतमा सम्पन्‍न पाँचौ आरबिबी एनभिए राष्‍ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट ३० खेलाडीको प्रारम्भिक छनोट गरेको थियो । पहिलो चरणमा यिनै ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने बताइएको छ । बन्द प्रशिक्षणका लागि पहिलो चरणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट सबभन्दा बढि ८ खेलाडी छनोट हुँदा न्यु डायमण्ड, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट समान ७ तथा भरतपुरबाट १ खेलाडी परेका थिए ।