सेभेन थ्री स्पोटर्ससँगको एनपिएल आयोजना सम्झौता रद्द प्रक्रिया अघि बढाउने क्यानको निर्णय

काठमाडौं, (खेलाडी)-  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग(एनपिएल) आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोटर्ससँगको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

क्यानको बोर्ड बैठकले एनपिएलका लागि संघले सेभेन थ्री स्पोटर्ससँगको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हाल सम्म अनुमती नदिएको र कम्पनीले सरकारको अनुमती पूर्व गर्नु पर्ने सम्झौता अनुरुपका कार्यहरु सम्पन्न गर्न नसकेकाले सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हाे ।

साथै बैठकले एक साता भित्र रिक्त रहेको पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पदपूर्तिका लागि १५ दिनको समयसिमा राखेर आवेदन माग गरेको छ ।

बोर्ड बैठकले क्यानको वार्षिक साधरणसभा डिसेम्बर पाँच २०२१ मा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले कर्णाली प्रदेश मातहतमा कम्तीमा चार जिल्ला हुनुपर्ने वेैधानिक व्यवस्था अनुसार कालिकोट,सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गरेको हाे ।

बैठकले नोभेम्बरमा युएईमा हुने आइसीसी महिला ट्वान्टी२० विश्वकप एसियाली छनोटका खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अक्टोबर २० बाट काठमाडौंमा  सुरु गर्ने निर्णय गरेको छ ।