एसिसी प्रिमियर कप

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसिसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानमाथि ८४ रनको सहज जित निकालेको छ ।

यस जितसँगै २ खेलमा ४ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । पहिलो पराजय ब्यहोरेको ओमानको समान खेलबाट २ अंक छ । पहिलो खेलमा नेपालले मलेसिया तथा ओमानले कतारलाई हराएका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा दुई सय २६ रनमै समेटियो ।

ओमानका लागि मोहम्मद नदिमले ८५ बलमा ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यसैगरी सन्दीप गौडले ४६, आयन खानले २९, काश्यप प्रजापतीले २५, फैयज बटले १९, जतिन्दर सिंहले १६ र आदिल सफिकले १३ रन जोडे ।

छैटौं विकेटका लागि नदिम र गौडले ९६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३, दिपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।

यही खेलमार्फत सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो एक सय विकेट पनि पूरा गरेका छन् । खेलको १३ औं ओभरको तेस्रो बलमा आदिल सफिकलाई एलबिडब्ल्यु आटउट गराउँदै ४२ खेलमा यो उपलब्धी हात पारेका हुन् ।

यससँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन् ।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । खानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय १० रनको योगफल तयार पारेको थियो ।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालको एकदविसीय अन्तर्राष्ट्रियमा उच्च योगफल गत महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको दुई सय ९७ रनको थियो ।

नेपालका लागि कुशल माल्लले ६४ बलमा १० छक्का र ९ चौकाको मद्दतमा एक सय ८ रन बनाए । कुशलले ५९ बलमै शतक प्रहा गरेका थिए । योसँगै उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा काम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

कुशलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहितकुमार पौडेलले बनाएको ९१ बलको कीर्तिमान तोडेका हुन् ।

समग्रमा कुशल नेपालबाट शतक पूरा गर्ने छैटौं खेलाडी हुन् । उनीभन्दा अगाडी पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरेका थिए ।

यसैगरी सोमपाल कामीले ४८ बलमा ९ चौककाको मद्दतमा अविजित ६३, भिम सार्किले ३३, करण केसीले अविजित २९, आरिफ शेखले २९ र कप्तान रोहितकुमार पौडेलले २३ रन जोडे ।

कुशलले पाँचौं विकेटका लागि आरिफसँग ७५ तथा आठौं विकेटका लागि सोमपालसँग ४९ रनको साझेदारी गरेका थिए । यसैगरी सोमपाल र करणले नवौं विकेटका लागि अविजित ६१ तथा तेस्रो विकेटका लागि भिम र रोहितले ५२ रनको साझेदारी गरे ।

ओमानका लागि आयन खानले २ तथा बिलाल खान, कालिमुल्लाह, कप्तान जिसन मक्सुद, फैयज बट, अकिब इलियस र जतिन्दर सिंहले समान १ विकेट लिए ।

ओमानमाथिको जितले नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । 

यो नेपालको ५० औं एकिदिवसीय अन्तर्राष्ट्रिय खेल हो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।