आइसिसी विश्वकप छनोट प्ले अफ

युएईले दियो नामिबियालाई दुई सय ६८ रनको लक्ष्य

काठमाडौं । आसिफ खान र वृत्य अरभिन्दको उत्कृष्ट ब्याटिङप्रेरित युएईले आइसिसी पुरुष विश्वकप छनोटको प्ले अफमा घरेलु टोली नामिबियासामू दुई सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विन्डहोकस्थित युनाइटेड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ६७ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि खानले ८६ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ९६ रन बनाए । यसैगरी अरभिन्दले एक सय १८ बलमा सात चौका र एक छक्काको मद्दतमा अविसिज ९३, आर्यन लाक्राले २४, कप्तान मोहम्मद वासिमले २३ र रोहन मुस्ताफाले १६ रन जोडे ।

चौथो विकेटका लागि खान र अरभिन्दले एक सय ६० रनको साझेदारी गरेका थिए ।

नामिबियाका लागि कप्तान जेरार्ड इरस्मस, बर्नार्ड स्कोल्ट्ज, कार्ल ब्रिकेनस्टोक र पिक्की या फ्रान्सले  समान एक विकेट लिए ।