टेस्ट क्रिकेटबाट मोइन अलीको संन्यास

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले सेतो बलको करियरमा केन्द्रित हुने भन्दै सोमबार टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

३४ वर्षे अलीले पाँच दिने स्वरुपको क्रिकेटमा पाँच सतक बनाउनुका साथै एक सय ९५ विकेट लिएका छन् । त्यसमा अविजित एक सय ५५ रनको इनिङ तथा पाँच विकेट हाउल पनि समावेश छ । 

‘म सकेसम्म लामो समयसम्म खेलिरहन चाहन्छु । म क्रिकेटको मज्जा लिन चाहन्छु । वास्तवमै टेस्ट क्रिकेट गज्जबको चिज हो । दिन लागेको बेला यो अरु स्वरुपको क्रिकेटभन्दा रमाइलो हुन्छ,’ अलीले भने, ‘मेले पनि टेस्ट क्रिकेटको रोमाञ्च अनुभव गरें । तर कहिलेकाँही टेस्ट क्रिकेटले माग गर्ने प्रतिबद्धता अली धेरै हुन्छ । मेरो विचारमा मैले पर्याप्त मात्रामा टेस्ट खेलिसकेँ । अब म खुसीसाथ विदा लिन चाहन्छु ।’

२०१४ मा इङ्ल्यान्डका लागि ‘डेब्यु’ गरेका अलीले त्यही वर्ष हेडिङलेमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट सतक बनाएका थिए । करियरको अन्तिम टेस्टमा यसै वर्ष ओभलमा भारतविरुद्ध उनले ३५ रन बनाउनुका साथै दुई विकेट लिएका थिए ।