आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

नेपालले दियो युएईलाई एक सय ९२ रनको लक्ष्य

फाइल फोटो

काठमाडौं ।  कप्तान देव खनालको अर्धशतकप्रेरित नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा घरेलु टोली युएईसामू एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अजमनस्थित इडेन गार्डेन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि देवले ८४ बलमा तीन चौका र एक छक्काकाे मद्दतमा सर्वाधिक ५१ रन जोडे । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र  मिलन बोहराले १० रन बनाए ।

देवले चौथो विकेटका लागि उत्तमसँग ८४ रनको साझेदारी गरेका थिए ।

युएईका लागि ध्रुव पराशरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई तथा  हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए ।

नेपाल युएईलाई पराजित गर्दै सन्  २०१६ पछि यु-१९ विश्वकप खेल्ने लक्ष्यमा छ । युएई पनि नेपाललाई स्तब्ध बनाउँदै विश्वकपमा छनोट हुन चाहन्छ ।