सन्दीप लामिछाने

देशले क्रिकेट जितेको छः सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान  सन्दीप लामिछानेले आफुलाई साथ र माया दिएकोमा आभार व्यक्त गर्दै देशले क्रिकेट जितेको बताएका छन् ।  

सन्दीपले बुधबार सामाजिक संजालमार्फत देशले क्रिकेट जितेको बताउँदै साथ र मायाका लागि आभार व्यक्त गरेका हुन् ।

‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ’, सन्दीपले लेखेका छन्,‘यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’

घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको स्कटल्याण्ड र नामिबियासम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले चार वटै खेल जितेको थियो । जसमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाललाई नामिबियालाई दुई र तीन विकेट तथा स्कटल्यान्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । करिब ६ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले शृंखलाका चार खेलमा   ४० ओभर बलिङ गर्दै एक सय ८४ रन खर्चिएर १३ विकेट लिएका थिए ।  

सन्दीप यसै शृंखलामार्फत राष्ट्रिय टोलीमा फर्किएका हुन् । नाबालिग बालात्कारको आरोप लागेपछि क्यानले गएको भदौ २३ मा सन्दीपलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधिन अवस्थामा छ ।

गएको भदौ पाँच गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको छ । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 
 

माघ १७ र १८ मा पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीप माथिको निलम्बन फुकुवा गरेको थियो ।