युइएफए च्याम्पियन्स लिग

च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न चाहन्छौंः बेन्जेमा

मड्रिड । स्पेनिस महारथी रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले युरोपियन फुटबल महसंघ (युइएफए) च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न चाहेको बताएका छन् ।

मंगलबार राति एन्डफिल्डमा साबिक विजेता रियालले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ काे पहिलो लेगमा लिभरपुलमाथि ५-२ को सानदार जित निकालेसँगै बेन्जेमाले यस सिजन पनि उपाधिको भोक रहेको बताएका हुन् ।

डर्विन नुनेजले खेलको चौँथो मिनेटमै लिभरपुललाई सुरुवाती अग्रता दिएका थिए । त्यसको दश मिनेटपछि मोहम्मद सलाहले लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए । 


भिनियस जुनियरले खेलको २१ औँ मिनेटमा रियाललाई खेलमा फर्काएका थिए । खेलको ३६ औँ मिनेटमा जुनियरले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-२ को बराबरीमा ल्याएका थिए ।

४७ औँ मिनेटमा इडर मिलिट्टोले रियाललाई ३-२ को अग्रता दिलाए । खेलको ५५ र ६७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई ५-२ को जित दिलाएका थिए ।

रियालले १४ पटक च्याम्पियन्स लिग उपाधि जितिसक्दा दुई पटक लिभरपुललाई फाइनलमा हराएको थियो । दोस्रो लेग रियालकाे मैदान सान्टियागो बर्नाबेउमा मार्च १६ मा पुन हुनेछ । 

‘सुरुआतमै दुई गोल खाए पनि हामीले आफ्नो क्षमतअनुसारको प्रदर्शन गर्दै जित निकाल्न सफल भयौं । यस पटक पनि च्याम्पियन्स लिग जित्न चाहन्छौँ’, बेन्जेमाले भने,‘हामीले पाएको अवसरको सदुपयोग गर्दै दर्शकलाई रोमाञ्चक खेल देखायौँ ।