माउन्टेन स्पोर्ट गेम्स

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

काठमाडौं । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्टस कन्क्लेभ सम्पन्न भएको छ ।

 नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्टस कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा माउन्टेन स्पोर्टस फेडेरेसनको सहकार्यमा भएको कन्क्लेभमा सदस्यसचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए ।

कन्क्लेभमा खेल प्रबद्र्धनमा विदेशी नियोग र दुतावास, माउन्टेन स्पोर्टस गेम्समा अन्तर सरकारी समन्वय, खेल इभेन्टबाट देशको ब्राण्डिङ र प्रदेशमा साहसीक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको थियो भने सदस्य सचिव घिसिङले प्रस्तुत गरेको अवधारणामाथि सहभागीले धारणा राखेका थिए ।

कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधि सहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।

राखेपले अर्को वर्ष मार्चमा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनाको प्रस्ताव अघि सारेर आयोजनाको तयारीलाई अघि बढाएको छ ।

फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रस्थान बिन्दु रहेको बताए । भट्टराईले सम्बन्धित राष्ट्रिय संघलाई ब्यवस्थित भएर प्रतियोगिताको तयारीमा अघि बढ्न सुझाव दिए ।

कन्क्लेभमा हाललाई ४ देखि ६ खेल समावेश गर्ने, साहसीक खेलको इभेन्टलाई प्राथमिकता दिने, तीन हजार मिटर आसपासको भेन्युमा प्रतियोगिता गर्ने,राखेप,  नेपाल ओलम्पिक कमिटी (एनओसी), युवा तथा खेलकुद मन्त्रालय र महासंघ मध्य एकले आयोजनाको नेतृत्व लिने लगायताका घोषणा भएका थिए ।