चितवनले पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर अजिजलाई ल्याउने
काठमाडौं, (खेलाडी)- नेपालको सबभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर डानिस अजिजले पनि खेल्ने भएका छन् ।
इपिएलको टोली चितवन टाइगर्सले असोज ९ बाट सुरु हुने आसन्न प्रतियोगिताका लागि अजिजलाई अनुबन्ध गरिसकेको जनाएको छ । टोलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पहिलो विदेशी खेलाडीका रूपमा पाकिस्तानी क्रिकेटर अजिजलाई अनुबन्ध गरेको जनाएको हो ।
चितवन टाइगर्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामीले गर्नेछन् ।
बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बाब्वेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
२५ वर्षे अजिजले नेसनल ट्वान्टी २० कपमा सिन्धबाट खेल्दा ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतकीय इनिङ सामेल छ । २०२१ को पाकिस्तान सुपर लिग (पिसिएल) मा उनले कराची किङ्सबाट खेलेका थिए ।
इपिएलको चौथो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ९ मा सुरु भएर २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।