लिग रोक्न ‘ए’ डिभिजनका चार क्लबको आह्‍वान

काठमाडौं, (खेलाडी)- सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले कोभिड १९ को कारण देखाउँदै शीर्ष डिभिजनको लिग घोषित मितिमा नगर्न अखिल नेपाल फुटबल संघको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा कोभिड १९ को संक्रमण कम नभएको उल्लेख गर्दै ललितपुरका चार ‘ए’ डिभिजन टोली जावलाखेल युथ क्लब, थ्री स्टार क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले एन्फा अध्यक्षलाई सम्बोधन गर्दै संयुक्त पत्र बुझाएका छन् । 

एसियाली फुटबल महासंघ (एएफसी) ले पनि महामारीका कारण थुप्रै प्रतियोगिता स्थगित गरेको प्रशंग उल्लेख गर्दै नेपालको अवस्था खतरनाक मोडमा रहेकोले घोषित मितिमा नगरी महामारी नियन्त्रणमा आएपछिमात्र ‘ए’ डिभिजन लिग गर्न चार क्लबले माग गरेका छन् ।

एन्फाले असोज ३ बाट शीर्ष डिभिजनको लिग आयोजना गर्ने घोषणा गर्दै टिम दर्ताका लागि क्लबहरुलाई साउन १० गतेसम्मको समयसिमा तोकेर पत्राचार गरेको थियो । जावलाखेल, थ्री स्टार, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले भने त्यसमा आफ्नो असहमति रहेको भन्दै महामारीबीच लिग लगायत अन्य फुटबल गतिविधि नगर्न सुझाएका छन् । 

‘केही दिन अघिमात्र विश्‍व स्वास्थ्य संगठनले महामारी खतरनाक मोडतिर बढिरहेको चेतावनी दिएको छ । दक्षिण एसियाका देशहरुमा पनि महामारीको कारणले स्थिती अति विकराल रहेको सर्वविधितै छ,’ क्लबहरुको संयुक्त पत्रमा उल्लेख छ, ‘नेपालमा पर्याप्त मात्रामा खोप उपलब्ध नभएको अवस्थामा र १८ वर्ष मुनिका लाई हालसम्म खोप वितरण नगरेको कारण पनि यस विषम परिस्थितिमा फुटबल गतिविधि सञ्‍चालन गर्नु खेलाडी, अफिसियल साथै सम्बन्धित सबैको परिवारजनमा पर्न सक्ने उच्च जोखिमलाई मध्यनगर गरी डाक्टर एवं विज्ञहरुले केही समयका लागि कुनै पनि खेल गतिविधि नगर्न सुझाव दिएका छन् । हालै राष्‍ट्रिय फुटबल टोलीका २० सदस्यमा कोभिड १९ पोजेटिभ भएको समाचार सुनिएको छ । त्यसैले पनि लिग लगायत फुटबलका गतिविधि सुरक्षित समयमा गर्नु उचित देखिन्छ । यसलाई एन्फाले गम्भीरताका साथ लिने आशा गरेका छौं ।’