भलिबल

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ तेस्रो साता

काठमाडौं । छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही माघ तेस्रो साता हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितो माघ २१ देखि २४ गतेसम्म हुने जनाकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा साबिकको विजेता नेपाल एपिएफ क्लबसँगै,न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा सञ्चालन गराइने प्रतियोगिताकाे विजेतालाई  तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने कुरा प्रतिष्ठानले जनाएको छ । व्याक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैँया नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिष्ठानले प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँ सहित स्पेसल अवार्डबाट सम्मानित गर्ने भएको छ ।

महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले २०७२ देखि हरेक वर्ष राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यस्तै प्रतिष्ठानले प्रतियोगिता अलवा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोनजा गर्दै आएको छ ।