टाईगर कप

टाईगर कपः आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बिहिबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनलमा आर्मीले न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २३-२५ ले गुमाए पनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-१३, २५-२२ र २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।

समूह चरणमा आर्मी दोस्रो तथा न्यु डायमन्ड तेस्रो हुँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । साबिकको विजेता एपिएफ घरेलु टोली गण्डकी प्रदेशलाई २५-१३, २५-१७ र २५-२१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा पनि आर्मी र एपिएफ नै प्रतिस्पर्धा गरेका थिए । जसमा बाजी मार्दै एपिएफ च्याम्पियन बनेको थियो ।