वुमेन्स वर्ल्ड च्याम्पियनसिप

वुमेन्स वर्ल्ड च्याम्पियनसिप सेप्टेम्बर २३ देखि सुरु हुने

एम्सर्टड्याम । भलिबल वुमेन्स वर्ल्ड च्याम्पियनसिपको १९औं संस्करण सेप्टेम्बर २३ देखि सुरु हुने भएको छ ।

नेदरल्यान्डस् र पोल्यान्डमा सेप्टेम्बर २३ देखि अक्टुबर १५ सम्म आयोजना हुने  प्रतियोगितामा भलिबल नेसन्स लिग खेलेका १६ टिम र पाँच महादेश गरी कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा नेसन्स लिग खेलेका बेल्जियम, ब्राजिल, बुल्गेरिया, क्यानडा, चीन, डोमिनिकन रिपब्लिक, जर्मनी, इटाली, जापान, कोरिया, नेदरल्यान्ड्स, पोल्यान्ड, सर्बिया, थाइल्यान्ड, टर्की, र अमेरिका तथा अर्जेन्टिना, क्यामरुन, कोलम्बिया, क्रोएसिया, चेक रिपब्लिक, काजकिस्तान, केन्या र पोर्टाे रिको छन् ।

प्रतियोगितामा सहभागी २४ टिमलाई चार पुलमा विभाजन गरिएको छ । जसअन्तर्गत पुल ‘ए’ मा नेदरल्यान्ड्स, इटाली, बेल्जियम, पोर्टाे रिको, क्यामरुन र केन्या छन् ।

पुल ‘बी’ मा पोल्यान्ड, टर्की, डोमिनिकन रिपब्लिक, कोरिया, थाइल्यान्ड र क्रोएसिया छन् । पुल ‘सी’ मा अमेरिका, सर्बिया, जर्मनी, बुल्गेरिया, क्यानडा र काजकिस्तान छन् । पुल ‘डी’ मा ब्राजिल, चीन, जापान, कोलोम्बिया, अर्जेन्टिना र चेक रिपब्लिक छन् ।

१० दिनसम्म चल्ने पहिलो चरणमा प्रत्येक टिमले पाँच खेलहरु खेल्नेछन् । प्रत्येक समूहबाट शीर्ष चार टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । अक्टुबर चार देखि ६ सम्म चल्ने दोस्रो चरणमा १६ टिमलाई दुई समूह बनाएर प्रतिस्पर्धा गराइनेछ । प्रत्येक टिमले पहिलो चरणमा प्रतिस्पर्धा नगरेका टिमसँग चार खेलहरु खेल्नेछन् । सो खेलपछि प्रत्येक समूहको शीर्ष चार टिम क्वार्टरफाइनलमा पुग्नेछ ।

अक्टुबर ११ मा क्वार्टरफाइनल, १२-१३ मा सेमिफाइनल र १५ मा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।