भिएनएलः महिलातर्फ इटालीलाई स्वर्ण

अंकारा । इटालीले पहिलो पटक भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । 

टर्कीको राजधानीमा सम्पन्न प्रतियोगितामा आइतबार युरोपियन च्याम्पियन इटालीले ब्राजिललाई २५–२३ २५–२२ २५–२२ को सोझो सेटमा हरायो । ब्राजिलले फाइनलमा नतिजा सुम्पिएको यो लगातार तेस्रो पटक हो ।

ब्राजिल विश्व च्याम्पियन सर्बियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने इटालीले टर्कीलाई निराश पारेको थियो ।

तेस्रो स्थानको लागि भएको खेलमा भने सर्बियाले टर्कीलाई २७–२५ २५–१७ २६–२४ ले पराजित गरेको थियो । भिएनएलमा सर्बियाको यो पहिलो पदक हो ।

 सन् २०१८ देखि सुरु भएको भिएनएलमा अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जितिसकेको छ । यस पटक भने अमेरिका क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

विश्व भलिबलको सर्वाेच्च निकाय एफआइभिबीले जारी गर्ने वरीयताको शीर्ष १६ टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । जसमा बेल्जियम, ब्राजिल, बुल्गेरिया, क्यानडा, चीन, डोमिनिकन रिपब्लिक, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, नेदरल्यान्ड्स, अमेरिका, थाइल्यान्ड, टर्की, सर्बिया र पोल्यान्डको सहभागिता थियो ।

भिएनएलमा महिलातर्फको प्रतियोगिताको सकिएसँगै बुधबारदेखि पुरुषतर्फको क्वार्टरफाइनलका खेल सुरु हुनेछ । क्वार्टरफाइनलको पहिलो खेलमा साविक विजेता ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।