आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए च्याम्पियनसिप: आर्मीको लगातार दोस्रो जित

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपको छैटौं संस्करणमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।

सोमबार प्रतियोगितामा पुरुषतर्फको दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेशलाई २५-१९, २५-८, २५- १८ को सोझो सेटमा पराजित गर्यो ।

गण्डकीको यो पहिलो हार हो । गण्डकीले आइतबार ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-१६, २३-२५, २५-१९, २६-२४ को सेटमा हराएको थियो । यता आर्मीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २५-२३, २५-१८, २५-२२ को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा एपिएफ र गल्कोट स्पोर्ट्स क्लब आमनेसामने हुनेछन् ।

यसअघि महिलातर्फ आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० र पुलिसले एपिएफलाई ३-१ को सेटमा हराएको थियो । यस्तै, पुरुषतर्फ हेल्प नेपालले ढोरपाटनलाई सोझो सेटमा हरायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच टिम सहभागी छन् ।