एन्फा चुनाव

सुर्खेत जिल्ला फुटबल संघको चुनाव ललितपुरमा, चन्द सहभागी हुन पाउने

काठमाडौं । जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन वैशाख २२ गते एन्फा मुख्यालयमै हुने भएको छ । सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने/नपाउने विषयमा विवाद भएपछि पूर्वनिर्धारित समयमा जिल्ला निर्वाचन हुन सकेको थिएन ।

सी डिभिजन लिगको आरसी ३२ क्लबका अध्यक्षसमेत रहेकाले अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । यद्यपि, आरसी ३२ बाट अर्कै प्रतिनिधिले मताधिकार लिएका थिए ।

तर, पूर्व निर्धारित समयबाट वैशाख १० गतेका लागि सरेको निर्वाचन पनि रविनकै अन्योलका कारण हुन सकेको थिएन । सचिवालयको पत्रपछि फेरि एन्फाको निर्वाचन समितिले रविनले सहभागी हुन पाउने भन्दै अर्को पत्र काटेपछि यो विवाद झनै पेचिलो बनेको थियो ।

अन्ततः एन्फा सचिवालयले आज (सोमबार) पत्र काटेर पूर्व निर्धारित समयमा चुनाव नभएकाले २२ गते एन्फा मुख्यालयमा निर्वाचन हुने बताएको छ । र, सोही चुनावमा सुर्खेतका लागि एन्फाका केन्द्रीय पर्यवेक्षक प्रकाश पंगेनीलाई बोधार्थ गर्दै रविन्द्र चन्दले आरसी ३२ बाट राजीनामा दिइसकेकाले सहभागी हुन पाउने बताएको छ ।

यद्यपि, रविन फेरि आरसी ३२ फुटबल एकेडेमीमा अध्यक्ष भएको देखिएमा पद खारेजीका साथै थप जरिवानासमेत गरिने एन्फा महासचिव इन्द्रमान तुलाधरद्वार हस्ताक्षरित पत्रमा उल्लेख छ ।