आरबिबी-एनभिए प्रतियोगिता

आरबिबी-एनभिए क्लब लिग वैशाख १८ देखि सुरु हुने

काठमाडौं । आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौ संस्करणको प्रतियोगिताकाे मुख्य प्रायोजकका लागि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

वाणिज्य बैंकले प्रायोजन स्वरुप भलिबल संघलाई १८  लाख रुपैयाँ दिनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबललाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘भलिबल भन्ने बितिक्कै हाम्रै हो भन्ने भावना आउँछ । बैंकले निरन्तर भलिबललाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु,’ श्रेष्ठले भने ।

राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिता एक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

वैशाखमा हुने लिगमा महिलातर्फ तीन विभागीय टोलि सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट स्पोर्ट्स क्लब गरि पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब गरी सात टोली छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधी उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक पुरस्कार राशीमा पनि वृद्धि भएको आयोजकले बतायो ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५र१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।