इङ्लिस प्रिमियर लिग

युनाइटेडको पुनरागमन जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले सेफिल्ड युनाइटेडविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ । बुधबार राति ओल्ड ट्रोफोर्डमा ७४ हजार समर्थकमाझ युनाइटेड दुई पटक पछि परेर तीन अंक जोड्न सफल भएको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा ह्यारी मग्वायर र रास्मस होजिउडले समान एक गोल गरेका हुन् । सेफिल्डको लागि जेडन बोग्ले र ब्रेरेटन डिआजले गोल गरेका थिए ।

जितपछि युनाइटेड ३३ खेलबाट ५३ अंकसहित छैटौँ स्थानमा छ । सेफिल्ड १६ अंकसहित पुछारमा छ । यससिजन सेफिल्ड रेलिगेशनमा परिसकेको छ ।

खेलको ३५औं मिनेटमा बोग्लेले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका हुन् । ४२औं मिनेटमा मग्वायरले गोल गर्दा पहिलो हाफ १–१ को बराबरीमा समाप्त भयो । ५०औं मिनेटमा गोल गर्दै डिआजले सेफिल्डलाई दोस्रो पटक अग्रता दिएका हुन् ।

६१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ब्रुनोले युनाइटेडलाई बराबरीमा ल्याएका हुन् । ८१औं मिनेटमा ब्रुनोले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । रास्मसले ८५औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सहज जित दिलाएका हुन् ।

राति नै भएको खेलमा एभर्टनले लिभरपुललाई २–०, क्रिष्टल प्यालेसले न्युक्यासललाई २–० र बर्नामाउथले उल्भ्सलाई १–० ले हराएका छन् ।