फ्रेन्च लिग वान

पिएसजी उपाधि नजिक

काठमाडौं । औसमाने डेम्बेले तथा कप्तान केलियन एम्बाप्पेको समान दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक रहेको छ । बुधबार भएको खेलमा पिएसजीले लोरियन्टलाई ४–१ ले हराएको हो ।

जितपछि पिएसजीले ३० खेलबाट ६९ अंक बनाएको छ । दोस्रो स्थानको मोनाकोको ५८ अंक छ । पराजित लोरियन्ट २६ अंकसहित रेलिगेशन क्षेत्रमा छ ।

अब, शनिबार हुने खेलमा ली हाभ्रेलाई हराए पिएसजी लगातार दोस्रो र समग्रमा १२औं पटक च्याम्पियन बन्नेछ ।

पिएसजीका एम्बाप्पले यस सिजन सबै खाले खेलमा ४२ गोल गरिसकेका छन् । बुधबार राति डेम्बेलेले १९ र ६० तथा एम्बाप्पेले २२ र ९०औं मिनेटमा गोल गरेका थिए ।

पिएसजी यससिजन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेको छ । यस्तै, फ्रेन्च कपको फाइनलमा स्थान बनाएको हो ।