युएस ओपन

सेरेनाले मप्रति सम्मान गरिन भन्नेमा छैनः मार्गरेट कोर्ट

न्युयोर्क । २४ पटककी कीर्तिमानी ग्रान्ड स्लाम विजेता मार्गरेट कोर्टले सेरेना विलियम्सले कहिले पनि आफ्नो सम्मान नगरेको र मोर्डन टेनिस आफूहरुको तुलनामा केही सहज भएको दाबी गरेकी छिन् ।

एज्ल तोमयान्कोभिचसँग पराजित भएसँगै सेरेना युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएकी थिइन । सो हारसँगै उनले टेनिस खेलजीवनबाट संन्यास लिएकी थिइन ।

प्रतियोगिता अघि नै युएस ओपन आफ्ना लागि अन्तिम प्रतियोगिता हुने बताएकी सेरेनाले प्रतियोगितामा लगातार दुई खेल जितेपछि भने संन्याको बारेमा आफै दुबिधामा रहेको बताएकी थिइन ।

विलियम्सको नाममा २३ ग्रान्ड स्लाम छ । उनी कार्टको नाममा रहेको २४औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्न चाहन्थिन ।

‘सेरेना राम्रो खेलाडी हुन् र उनीप्रति सधै मेरो सम्मान छ’,कोर्टले भनिन्, ‘तर उनको मप्रति सम्मान छ भन्नेमा म विश्वस्त छैन । ’

कोर्टले सन् १९६० देखी १९७३ सम्म विश्व टेनिसमा राज गरेकी थिइन । उनले विगतमा र अहिलेको टेनिसमा धेरै अन्तर आएको बताइन ।

‘अहिलेको नियम केही सहज छ । मलाई पनि म वर्तमान टेनिसमा भैदिएको भए जस्तो लाग्छ,’उनले भनिन्,'त्यो बेला परिवार र साथीलाई लिएर कोर्टमा जान पाइदैनथ्यो ।हामीले पैसाको अभावमा प्रत्येक हप्ता एक पटक मात्र कोर्टमा खेल्न पाउथ्यौ । अहिले सहज छ । हामीलाई प्रतियोगिता खेल्ने पर्ने बाध्यता हुन्थ्यो तर अहिले खेलाडीहरु सामु धेरै विकल्प छ । हामी परिवारबाट १० महिना बाहिर हुन्थ्यौ । घरको न्यास्रो लागेकै कारण मैले सन् १९६५ मा संन्यासको घोषण गरेको थिए । जुन उचित निर्णय थिएन । तर पछि म पुनः खेलमा फर्किए । न प्रशिक्षक नै हुन्थे न त फिजियो नै । हामीले अहिलेको जस्तो सुबिधा पाएनौ । अहिलेका खेलाडी त्यो बेलाको खेल सहज भन्दै पूरा खेलाडीको सम्मान गर्दैैनन् । जसले मलाई निराश बनाउँछ ।